धरान : पृथीबहादुर थेबे स्मृति प्रतिष्ठानको ११ औँ साधारण सभा सम्पन्न भएको छ ।

धरान-१४ स्थित चोङबाङ रिसोर्टमा शनिवार सम्पन्न साधारण सभाले थुप्पुको थेबे वंशको ऐतिहासिक पुर्खा पृथीवहादुर थेबेको स्मृतिमा स्थापित प्रतिष्ठानलाई समाजको हितमा थप कल्याणकारी बनाउँदै ३४ औँ पुस्तामा हस्तान्तरण गर्ने नीति अख्तियार गरेको छ ।

राणा कालमा पूर्वी लिम्बुवानको साबिक सिनाममा जन्मेका थुप्पुको थेबे वंशका पृथीवहादुर थेबेका नाति पुस्ताहरूले बाजेको सम्मानमा स्थापित प्रतिष्ठानलाई लोक कल्याणकारी सामाजिक क्षेत्रमा काम गर्न नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्दै जानु पर्नेमा जोड दिइएको थुप्पुको थेबे समाज सुनसरीका अध्यक्ष ज्ञानबहादुर थेबेले बताए ।

प्रदेश १ का सांसद विष्णु तुम्बाहाम्फेको उपस्थितिमा सम्पन्न उक्त साधारण सभामा मुन्धुमी साहित्यकार सञ्चारकर्मी प्रदीप मेन्याङ्बोलाई पुरस्कृत गरिएको थियो । पत्रकारितासँगै नेपाली साहित्य र मुन्धुमी साहित्यको उन्नयनमा दिएको योगदानको कदर गर्दै सञ्चारकर्मी मेन्याङ्बोलाई पुरस्कृत गरिएको हो ।

थेबेको १४७ औँ जन्मजयन्ती र उनको स्मृतिमा स्थापित प्रतिष्ठानको ११ औँ वार्षिक साधारण सभाको उद्घाटन समारोहमा मेन्याङ्बोलाई दिल–शिव ट्रस्ट मार्फत नगद १० हजार रुपैयाँ सहित दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको थियो । उक्त अवसरमा किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष डा. कमल तिगेलालाई अभिनन्दन गरिएको थियो ।

पृथीवहादुर थेबेका नाति पुस्ताहरू नवीन थेबे, सूर्य र किरण टी थेबेले दोस्रो विश्वयुद्धका साक्षी पूर्व ब्रिटिस गोर्खा लाहुरे पिता दिलबहादुर थेबे र आमा शिवमायाको नाममा दिल–शिव ट्रस्ट स्थापना गरेका हुन् ।

ट्रस्टले प्रतिष्ठानसँग मिलेर ताप्लेजुङ, झापा, मोरङ र सुनसरी लगायतका विभिन्न विद्यालयहरूमा छात्रवृत्ति वितरण र समाजमा योगदान दिनेहरूको कदर स्वरूप सम्मान गर्दै आएको छ ।

उद्घाटन समारोहमा प्रतिष्ठानका अध्यक्ष लक्ष्मीप्रसाद थेबे, दिल-शिव ट्रस्टका संस्थापक सदस्य किरण टी थेबे लगायतले आफ्नो धारणा राखेका थिए ।