विराटनगर : झापाको कनकाई नगरपालिका बाल कल्याण अधिकारी तोक्ने प्रदेश १ को पहिलो नगरपालिका पनि बनेको छ ।

७ सय ५३ वटा स्थानीय तह मध्ये तेस्रो भएको छ । बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६१ अनुसार स्थानीय तहमा बाल कल्याण अधिकारीको व्यवस्था रहेको र बाल कल्याण अधिकारी नियुक्त गर्ने तथा तोक्ने अधिकार स्थानीय तहलाई नै प्रदान गरेको छ ।

सो ऐन बमोजिम नगरपालिकाले योजना शाखाका कार्यक्रम संयोजक उमनाथ ढकाललाई बाल कल्याण अधिकारीको जिम्मेवारी प्रदान गरिएको उपप्रमुख मञ्जु प्रसाईँले जानकारी दिइन ।

कनकाई नगरपालिकाले बाल अधिकार संरक्षण तथा सम्र्वद्धन कार्यविधि पास गरी बाल अधिकार समिति नगरपालिकाकी उपप्रमुख प्रसाईँको अध्यक्षतामा गठन गरिएको छ ।

बाल अधिकार समितिले कार्यविधि पास गरी सोही बमोजिमको बाल कल्याण अधिकारीको व्यवस्था गरेको हो । बालबालिका सम्बन्धी ऐन २०७५ ले हरेक स्थानीय तहमा बाल कल्याण अधिकारी हुनुपर्ने प्रावधान भए पनि स्थानी तहले यस प्रति चासो नदेखाएको पाइएको छ ।

राष्ट्रिय बाल अधिकार परिषद्का समन्वय अधिकृत सुमन अधिकारीले बालबालिका सम्बन्धी ऐनमा भएका व्यवस्थाहरू अझै पनि स्थानीय तहहरूले कार्यान्वयन गर्न नसकेको बताए ।

उनले स्थानीय तहमा बाल अधिकार समिति, बाल कोष, बाल कल्याण अधिकारी हुनु पर्ने व्यवस्थालाई कार्यान्वयनका लागि बाल अधिकार परिषद्ले काम गरिरहेको बताए ।