धरान : बालबालिकाहरूलाई मिडिया प्रति आकर्षण गर्न धरान उपमहानगरपालिका वडा नम्बर ४ का वडा बाल सञ्जाललाई एक दिने मिडिया उत्प्रेरणा तालिम दिएको छ ।

वडाको बालबालिका लक्षित कार्यक्रम अन्तर्गतको बजेटबाट पिस मिडिया ग्रुपले तालिमको आयोजना गरेको हो । वडाको आर्थिक सहयोगमा भएको तालिममा बाल सञ्जालमा आबद्ध रहेका १४ वटा बाल क्लबका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कोशीपत्र दैनिकका सम्पादक तथा महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक राजेश विद्रोहीले तालिमको सहजीकरण गरेका थिए ।

बालबालिकाहरूलाई मिडिया प्रति आकर्षित गर्दै सञ्चार क्षेत्रमा पहुँच बढाउन तालिम महत्त्वपूर्ण रहेको सहभागीहरूले बताएका छन् । मिडियाको उपयोगिताको बारेमा जान्ने अवसरले बालबालिकाको क्षमता समेत अभिवृद्धि भएको उनीहरूको भनाई छ । तालिममा आमसञ्चारको महत्त्व, पत्रकारिताको मूल्य मान्यता र नेपालमा सुरुवातको विषयमा सहजकर्ता विद्रोहीले सहजीकरण गरेका थिए ।

बाल सञ्जाल वडा नम्बर ४ की अध्यक्ष प्रमीला राईको सभापतित्वमा भएको कार्यक्रममा बाल क्लबका २५ जना प्रतिनिधीहरुको सहभागिता रहेको कार्यक्रमका संयोजक पिस मिडिया ग्रुपका संयोजक दिनेश गजमेरले बताए । कार्यक्रममा वडा नम्बर ४ का वडा सदस्य धन बहादुर राई, गीता कुमारी राई लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।