धरान : यति बेला जाडो पछिको गर्मी सिजनले तराई तताउन थालेको छ । तराईको गर्मी छल्ने खोजीमा तपाई हुनुहुन्छ भने तराईबाट नजिकैको सुन्दर पर्यटकीय केन्द्र जेफाले जानुहोस् ।

मौसम खुलेको बेला तराईका फाँटहरु  मज्जाले नियाल्न सकिने अनि तराईमा गर्मी हुँदा जेफालेको चिसो मौसममा रमाउँदै अनि भुईकुहिरोसंगको लुकामारीले तराईको गर्मी चटकै भुलाई दिन्छ जेफालेले ।

Jefale-10

अझ त्यहाँ रहेका चियाका बुटाहरूले इलामको चिया बगानलाई समेत बिर्साइदिन्छ । पछिल्लो समय गर्मी छल्ने मुख्य पर्यटकीय गन्तव्य बन्दै गरेको जेफाले आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र समेत बन्दै गएको छ । 

जेफाले धनकुटा जिल्लाको दक्षिण पूर्वी सीमासँग जोडिएको मोरङ जिल्लाको केराबारी गाउँपालिका–२ सिंंहदेबीमा रहेको छ । उच्च पहाडी भूभागमा रहेको यो सानो बजार साँच्चै सुन्दर र मनमोहक छ । 

Jefale-7  

त्यहाँ रहेको मातृभूमि टी स्टेटले चिनिने स्थानीय कृषि उद्यमी तथा चिया व्यवसायी नारायण राई र   बिना राईले  २  सय  रोपनी भन्दा बढी जमिनमा सञ्चालन  गरेको इलाम बिर्साउने चिया बगानले त झन् त्यहाँ पुग्ने जो कोहीको मनलाई भुलाएर इलामलाई बिर्साइदिन्छ । 

Jefale-6 अझ जेफाले आउनेहरूका लागि चार तले जेफाले भ्यु टावर जेफालेको अर्को आकर्षणको केन्द्र बनेको छ । ७२ लाख रुपैयाँ लागतमा निर्माण गरिएको सो भ्यु  टावर  र सदाबहार  चिसो मौसम भएकाले जेफालेले आन्तरिक पर्यटकको मन जित्दै गएको छ ।  जेफाले डाँडाबाट पूर्वका १६ जिल्लाको दृश्यावलोकनलाई सहजै नियाल्न सकिन्छ भनिन्छ । जेफाले डाँडाबाट कञ्चनजंगा हिमालको पहिलो मनोरम सूर्योदयको दृश्य समेत हेर्न पाइन्छ ।

Jefale-8

त्यहाँ रहेका घरबास होमस्टेले थप जेफाले पुग्नेलाई सहज बनाइदिएको छ । होमस्टे  पुग्ने पाहुनालाई गरिने आतिथ्य सत्कार अलि फरक भएकोले पहिलो पटक पुग्नेलाई औधी रमाइलोको महसुस हुनेछ ।

समुन्द्री सतहबाट एक हजार ९ सय ७० मिटर उचाइमा रहेको जेफाले डाँडालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न स्थानीयवासीले जेफाले पर्यटन विकास समिति गठन गरी विभिन्न कार्यक्रम सुरु गरेका छन् । यसले पनि आन्तरिक पर्यटकहरूको उपस्थिति झन् बाक्लिएको बताइन्छ ।

Jefale-5

होमस्टे एसोसिएसन प्रदेश नं १ का सदस्य भीम ठकुरीलेका अनुसार जेफालेमा हाल  ९ वटा घरमा सञ्चालन गरिएको होमस्टेहरुमामा एक पटकमा करिब  १ सय ५० जनालाई बसाउन र खुवाउन सकिन्छ ।  जेफालेमा मासिक  १  हजार बढी मानिसहरू जेफाले आउने गरेको उनी बताउँछन् । 

Jefale-4

हालसालै ३ महिनामा ४ हजार बढी पर्यटक आएका उनले  बताए । उनी भन्छन् एक पटक आएका मानिस ४ वा ५ चोटि त आउँछन् आउँछन् । पछिल्लो समय विद्यालयबाट जाने शैक्षिक भ्रमण, स्थलगत भ्रमण, र विभिन्न सरकारी कार्यक्रमहरू र गोष्ठीहरू जेफालेमा हुने गरेका छन् । 

अन्य पूर्व क्षेत्रका होमस्टे भन्दा सस्तो दररेट भएकाले पनि सबैको पहिलो रोजाई भएको  जेफाले सामुदायिक होमस्टेका अध्यक्ष युवराज खड्काको दाबी छ । उनी भन्छन् –अन्य होमस्टेको एक दिनको प्याकेज १५ सय बढी छ , हाम्रोमा १ हजारको प्याकेज मात्र छ । 

Jefale-2

फेरी आएका पाहुनालाई हामी  जेफाले होमस्टे  सञ्चालकहरू सबैले आग्र्यानिक खानेकुराहरू नै  खुवाउँछौ ।  ग्रामीण परिवेशको अनुहार, बोलाई शैलीले अलि फरक  भनेर सबैले मन पराउँछन् ।  

जेफाले डाँडामा धार्मिक तथा सांस्कृतिक क्षेत्रको रूपमा पाथीभरा मन्दिर, ऐतिहासिक किम्बदन्तीका रूपमा रहेको तीनचाने ढुङ्गाको अवलोकन गर्न पाइन्छ ।

Jefale-3

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ मङ्सिरे पूर्णिमा र नयाँ वर्षका दिन यहाँ मेला लाग्ने गर्दछ । मेलामा साहित्यिक कार्यक्रम, खेल प्रतियोगिता सहित विभिन्न कार्यक्रम हुँदै आएका छन् ।

पूर्वपश्चिम राजमार्गमा पर्ने सुन्दरहरैंचा नगरपालिकाको खोर्सानेदेखि केराबारी गाउँपालिका हुँदै करिब ३३ किलोमिटर यात्रापछि जेफाले डाँडामा पुगिन्छ ।

Jefale-1

यस्तै, कोशी राजमार्गको भेंडेटार देखि डाँडबजार, राजा रानी, साम्मेवा हुँदै सहज रूपमा  जेफाले पुग्न सकिन्छ । इटहरी धरान हुँदै जेफाले ६०  किलोमिटरको दुरीमा छ भने  केराबारी विराटचोक बाट ३५ किलोमिटर टाढा पर्दछ । 

Jefale