धनकुटा : धनकुटा नगरपालिका वडा नं. ७ मदनचोकमा रहेको हाम्रो बहुमुखी पाठशालाको भवनमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति भएको छ ।

गए राति साढे २ बजेतिर आगोलागि हुँदा पाठशालामा रहेका सबै सामान जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट पाठशालाको भवनमा रहेका टपरी बनाउने मेसिन, विद्युतबाट कुखुराको चल्ला निकाल्ने मेसिन, साउन्ड सिस्टम र जातीय भेसभुसा, जातीय गर गहना लगायतका सामान जलेर नष्ट भएका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले आगलागी भएको दुई घण्टा पछि आगो नियन्त्रणमा लिएका थिए । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए ।

पाठशालाले मदन चोकमै रहेको नर्वदेश्वर मन्दिरको जग्गामा विगत ३ वर्षदेखि जस्ताको बेरा लगाएर बनाएको एक तले भवनमा पाठशाला सञ्चालन गरी नृत्य, सङ्गीत, चित्रकला लगायतका सीपमूलक तालिम दिँदै आएको थियो ।