धरान : मोरङ र उदयपुरमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।

मोरङको कटहरी गाउँपालिका-३ मा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । आइतबार बेलुका साँढे ५ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ४७८३ नम्बरको टिपरले साइकलमा यात्रा गरी रहेका कटहरी गाउँपालिका-२ का ३६ वर्षीय बच्चु डुमलाई ठक्कर दिँदा घाइते भएका डुमको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

साइकललाई ठक्कर दिने टिपर तथा चालकलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसै गरी उदयपुरको कटारी नगरपालिका-१० का सुजन थापाको ३ वर्षीय छोरा अरबिन्द्र थापाको आगोले जलेर मृत्यु भएको छ ।

आइतबारवाट बेलुका ६ बजेको समयमा घर निजकै रहेको परालको कुन्यूमा अचानक आगलागी भई उक्त आगलागीबाट घरमा समेत आगो सल्कँदा घर भित्र रहेका बालकको आगोले जलेर मृत्यु भएको हो ।

उक्त आगलागीबाट थापाको २ तले कच्ची घर सहित घर भित्र रहेको खाद्यान्न, लत्ताकपडा, भाँडा वर्तन, नगद १ लाख ५० हजार, घर नजिकै रहेको मतान घर, बाख्राको गोठ र २ वटा बाख्राको पाठा समेत जलेर नष्ट हुँदा अन्दाजी ३० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

सोही आगलागीबाट छिमेकी प्रकाश थापाको समेत घरमा आगलागी भई जलेर नष्ट हुँदा उनको घर भित्र रहेको खाद्यान्न, लत्ताकपडा, भाँडा वर्तन, नगद १ लाख ५० हजार, सुन/चाँदी, घर नजिकै रहेको मतान घर, २ वटा बाख्राको पाठा र भैँसीको पाडो समेत जलेर नष्ट हुँदा अन्दाजी २८ लाख बराबरको क्षति भएको तथा अर्का छिमेकी मेख बहादुर थापाको समेत घर पूर्ण रूपमा जलेर नष्ट हुँदा अन्दाजी २५ लाख बराबरको क्षति भएको हो ।

उक्त आगलागी नेपाल प्रहरी र स्थानीयवासीको सहयोग आइतबार बेलुका सवा ९ बजे नियन्त्रणमा आएको र अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।