धरान : झापा र सुनसरीका तिन छुट्टाछुट्टै स्थानबाट लागुऔषध एन्फाटामाईन आइस र ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-३ बाट लागुऔषध एन्फाटामाईन आइस र ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा झापाको कचनकवल गाउँपालिका-६ का २५ वर्षीय पञ्चनन्द राजवंशी, कचनकवल गाउँपालिका-७ का ५० वर्षीय हेमनारायण राजवंशी, मोरङ उर्लाबारी-६ का २० वर्षीय विष्णु पोदार र उर्लाबारी-५ का १६ वर्षीय एक बालक रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले एन्फाटामाईन आइस ६० ग्राम र ब्राउनसुगर ८० ग्राम बरामद गरेको छ । यसै गरी झापाकै बुद्धशान्ती गाउँपालिका-३ बाट स्थानीय २६ वर्षीय सुवास लिम्बु ब्राउनसुगर सहित पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधवारेबाट खटिएको प्रहरी टोलीले ५ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यस्तै सुनसरीको धरान उप-महानगरपालिका–२ बाट पाँचथरको फिदिम नगरपालिका-१ का २३ वर्षीय सुवास आचार्यलाई पनि ब्राउनसुगर सहित धरान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले आचार्यलाई ५०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।