इटहरी : सुनसरीको इटहरीमा आयोजित वडाध्यक्ष अन्तर कलेज भलिबल प्रतियोगिताको उपाधि छात्रतर्फ पूर्वाञ्चल कलेज तरहरा र छात्रातर्फ नमुना एकेडेमी तरहराले जितेको छ ।

इटहरी भलिबल क्लबको आयोजना तथा इटहरी वार्ड नं-४ को संयोजनमा सम्पन्न प्रतियोगितामा छात्रतर्फ पूर्वाञ्चल कलेजले तरहराकै ज्ञान दर्पण एकेडेमीलाई ३–१ को सेटले पराजित गर्दै उपाधि जितेको हो ।

छात्रा तर्फको खेलमा भने नमुना एकेडेमी तरहराले लर्डबुद्ध कलेज रामधुनीलाइ २–० को सोझो सेटले पराजित गर्दै उपाधि जित्न सफल भयो । विजेता टिमले नगद १० हजार सहित शिल्ड र उपविजेता टिमले नगद ५ हजार सहित शिल्ड हात पारेको छ । विजेता तथा उपविजेता टिमलाई इटहरी वार्ड नम्बर-४ का वडाध्यक्ष चन्द्र भट्टराई, आयोजक क्लबका अध्यक्ष गोपाल श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिता चैत्र ७ गते देखी इटहरी स्थित क्षेत्रीय रङ्गशालाको भलिबल कोर्टमा सञ्चालन भएको थियो। प्रतियोगितामा छात्रतर्फ सुनसरी जिल्लाभरिका १२ वटा कलेज सहभागी थिए भने छात्रातर्फ ११ कलेजले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा इटहरी, धरान, दुहबी र रामधुनीका विभिन्न कलेजका विद्यार्थीले प्रतिस्पर्धा गरेको आयोजक क्लबका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

भलिबलका अहिलेसम्म हुँदै आएका अधिकांश खेल केबल क्लब स्तरमा र राष्ट्रिय प्रतियोगिताका रूपमा मात्रै हुँदै आएका छन् । कलेज स्तरमा पनि खेलको विकास, खेलाडी उत्पादन तथा प्रतियोगिताको माध्यमबाट खेलाडी उत्पादन गर्ने उदेश्वले प्रतियोगिता गरिएको र आगामी वर्ष पनि यसलाई निरन्तरता दिइने बताइएको छ ।