इटहरी : सुन्दरदुलारी उद्योग वाणिज्य सङ्घको भवन शिलान्यास भएको छ। सोमबार बिहान एक कार्यक्रमका बिच सुन्दरहरैचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले भवनको शिलान्यास गरेका हुन् । ५ करोड लागतमा २ वर्षभित्र निर्माण सम्पन्न हुने गरी बहुउद्देश्यीय भवन बन्न लागेको हो ।

गछीया खेलमैदानको उत्तर पट्टी करिब ९ कट्ठा जग्गामा १५ सय क्षमताको सिटी हल सहितको भवन निर्माण हुने भएको हो । भवनको अभावमा सुन्दरदुलारीका स्थानीयले समस्या भोग्नु नपरोस् भनेर द्रुत गतिमा काम सुरु गरीने उवासंघका अध्यक्ष किशोर कार्कीले बताए ।

भवन निर्माण भएपछि साबिक स्थानीय जनताको ठुलो आवश्यकता परिपूर्ति हुने उनको विश्वास छ । ५ तल्ला सम्मको भवनलाई जिम हल सहितका महत्त्वपूर्ण उद्देश्यमा प्रयोग गर्न सकिने उनको भनाई छ ।

लामो समय देखी एउटै नगरपालिकामा दुई वटा उद्योग वाणिज्य सङ्घ भएको भन्दै विवाद हुँदै आएको छ । उद्योग वाणिज्य महासङ्घमा दर्ता नभएको सुन्दरहरैचा उद्योग वाणिज्य सङ्घले आफूहरू सँग आफ्नै निजी भवन भएको दाबी गर्दै आएको थियो । उता सुन्दरदुलारीले पनि आफ्नै भवन बनाएर उवासंघको आन्तरिक आम्दानी वृद्धि गर्ने सोच बनाएको छ।

उवासंघको निमार्णाधिन भवनमा सुन्दरहरैचा नगरपालिकाले आवश्यक सहयोग गर्ने मेयर ढकालले बताए । बन्न लागेको भवनले नगरपालिकाको पश्चिमी क्षेत्रका जनताको आवश्यकता सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।