धरान : पूर्व प्रेस सेन्टर  र हालको प्रेस सङ्गठन नेपाल सुनसरी र प्रेस चौतारी (खनाल-नेपाल समुह) ले नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनमा श्रमजीवी पत्रकारको पक्षमा सदैव वकालत गर्ने  र सबैको साझा उम्मेदवार बनाई नेतृत्वमा आफ्नो प्यानल ल्याउने र साझा पत्रकार महासङ्घ बनाउँदै अघि बढ्ने निर्णय गरेका छन् ।

आज इटहरीको सुमेरु होटलमा प्रेस सङ्गठन नेपालको  बैठकखनाल नेपाल समुह पेसागत हकहित र स्थानीय सञ्चारगृहहरूको आर्थिक सबलताका लागि वकालत गर्ने साझा उम्मेदवार खोजी गरी अगाडी बढ्ने निर्णय गरेको छ ।

उक्त सङ्गठनको बैठकले  अग्रजहरू रहेको पत्रकार महासङ्घ निर्वाचन तयारी तथा अन्य सङ्गठनसँग सहकार्यका लागि समिति समेत बनाइने , चुनावको लागि आर्थिक व्यवस्थापन गर्ने, अन्य सङ्गठनका अग्रज पत्रकारहरुसंग संयोजनकारी भूमिका खेल्ने समिति समेत बनाउने निर्णय गरेको जिल्ला संयोजक अर्जुन शर्माले जानकारी दिएका छन् । 

बैठकले पत्रकार महासङ्घमा सङ्गठनको उपस्थिति र अन्य सङ्गठनहरूसँग सहकार्यका लागि भूमिका निर्वाह गदैं श्रमजीवी पत्रकाहरुको हकहितका मुद्दा तय गर्न र कार्य योजना निर्माण गर्ने जनाएको छ ।

बैठकमा सङ्गठनका केन्द्रीय कार्यालय सदस्य गङ्गा बराल,केन्द्रीय सदस्य जयकृष्ण यादव, प्रदेश पार्षद् राजेन्द्र किराँती, प्रदेश संयोजक राजन केडी, केशव घिमिरे, सङ्गठनका पूर्व अध्यक्ष श्रीशिशा राई, सल्लाहकार जनकऋषि राई लगायतको उपस्थिति रहेको थियो ।

अबको महासङ्घको नेतृत्व र नेतृत्वको कार्यभारको विषयमा कार्य योजना बनाएर सङ्गठन अघि बढ्ने सङ्गठनले जनाएको छ । त्यस्तै उक्त बैठकबाट १ सय १५ सदस्य निर्वाचन परिचालन समिति समेत बनाएको छ । उक्त समितिले देशै भरी अग्रगामी शक्तिहरूसँग सहकार्य गरेर महासङ्घको निर्वाचनमा जाने सो बैठकको निष्कर्ष समेत  रहेको छ ।

प्रेस सङ्गठन नेपालले नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनमा श्रमजीवी पत्रकारको पक्षमा सदैव वकालत गर्ने साझा उम्मेदवारको घोषणाका लागि सबै पक्षधर सञ्चार सम्बद्ध सङ्घ सङ्गठनसँग निरन्तर संवाद र छलफलमा आजैको मितिबाट जुटिरहेको पनि  जनाएको छ ।

यसै गरी प्रेस चौतारी नेपाल सुनसरी (खनाल-नेपाल समुह) ले नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनमा श्रमजीवी पत्रकारको पक्षमा सदैव वकालत गर्ने साझा उम्मेदवार बनाउन सुनसरीका सबै सङ्गठनहरूसँग सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको छ ।

पेसागत हकहित र स्थानीय सञ्चारगृहहरूको आर्थिक सबलताका लागि वकालत गर्ने साझा उम्मेदवार खोजी गरी अगाडी बढ्ने पनि निर्णय गरेको हो ।

सोमबार धरानमा बसेको सङ्गठनको ३१ औँ बैठकले यस्तो निर्णय गरेको हो । बैठकले रिक्त रहेको पदमा नयाँ  मनोनयन समेत गरेको छ ।

सङ्गठनको संयोजकमा पत्रकार प्रेम बास्तोलालाई मनोनयन गरेको छ । सह-संयोजकमा योगेशबाबु काफ्ले र सह-सचिवमा पप्पु यादवलाई मनोनयन गरिएको सङ्गठनका सचिव विकास चाम्लिङ राईले जानकारी दिए ।

कमिटीलाई पूर्णता दिदैं ३२ सदस्यीय समिति बनेको सचिव राईले जानकारी दिए। सङ्गठनमा निष्क्रिय रहेकाहरूलाई बिदाइ गरेर नयाँ थपिएको हो ।

बैठकले सङ्गठनका अग्रजहरू रहेको पत्रकार महासङ्घ निर्वाचन तयारी तथा अन्य सङ्गठनसँग सहकार्यका लागि समिति समेत बनाएको संयोजक बास्तोलाले जानकारी दिए । बास्तोलाका अनुसार समितिले पत्रकार महासङ्घमा सङ्गठनको उपस्थिति र अन्य सङ्गठनहरूसँग सहकार्यका लागि भूमिका निर्वाह गदैं श्रमजीवी पत्रकाहरुको हकहितका मुद्दा तय गर्न र कार्य योजना निर्माण गर्ने जिम्मेवारी दिइएको छ ।

बैठकमा सङ्गठनका केन्द्रीय सदस्य देवेन्द्र कार्की, पत्रकार महासङ्घ प्रदेश सदस्य तथा प्रेस चौतारीका नेता शशी कोइराला लगायतको उपस्थिति रहेको थियो ।

यसै बिच सङ्गठनले विज्ञप्ति जारी गरी नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनमा प्रेस चौतारी नेपाल सुनसरीले आधिकारिक रूपमा कुनै पनि व्यक्तिलाई सुनसरीको नेतृत्वका लागि अगाडि नसारेको र छलफलको क्रममा रहेको स्पष्ट पारेको छ ।

प्रेस चौतारी नेपाल सुनसरी नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनमा श्रमजीवी पत्रकारको पक्षमा सदैव वकालत गर्ने साझा उम्मेदवारको घोषणाका लागि सबै पक्षधर सञ्चार सम्बद्ध सङ्घ सङ्गठनसँग निरन्तर संवाद र छलफलमा जुटिरहेको जनाएको छ ।

सङ्गठनका संयोजक बास्तोला र सचिव विकास चाम्लिङ राईले विज्ञप्ति जारी गरी जिल्लाभरका सञ्चारकर्मीहरूलाई भ्रममा नपर्न अपिल समेत गरेको छ । यस अघि प्रेस चौतारी नेपालको अर्को समूहले आफ्नो समूहबाट सन्तोष काफ्लेलाई महासङ्घको अध्यक्ष पदका लागि उम्मेदवार घोषणा गरिसकेको छ ।