धरान : उदयपुरको कटारी नगरपालिका-१० का सुजन थापाको ३ वर्षीय छोरा अरबिन्द्र थापाको आगोले जलेर मृत्यु भएको छ।

आइतबार बेलुका ६ बजेको समयमा घर निजकै रहेको परालको कुन्यूमा अचानक आगलागी भई उक्त आगलागीबाट घरमा समेत आगो सल्कँदा घर भित्र रहेका बालकको आगोले जलेर मृत्यु भएको उदयपुरका एसपी भीम दाहालले जानकारी दिए ।

आगलागीबाट थापाको २ तले कच्ची घर सहित घर भित्र रहेको खाद्यान्न, लत्ता कपडा, भाँडा वर्तन, नगद १ लाख ५० हजार, घर नजिकै रहेको मतान घर, बाख्राको गोठ र २ वटा बाख्राको पाठा समेत जलेर नष्ट हुँदा अन्दाजी ३० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

सोही आगलागीबाट छिमेकी प्रकाश थापाको समेत घरमा आगलागी भई जलेर नष्ट हुँदा निजको घर भित्र रहेको खाद्यान्न, लत्ता कपडा, भाँडा वर्तन, नगद १ लाख ५० हजार, सुन/चाँदी, घर नजिकै रहेको मतान घर, २ वटा बाख्राको पाठा र भैँसीको पाडो समेत जलेर नष्ट हुँदा अन्दाजी २८ लाख बराबरको क्षति भएको छ ।

अर्का छिमेकी मेख बहादुर थापाको समेत घर पूर्ण रूपमा जलेर नष्ट हुँदा अन्दाजी २५ लाख बराबरको क्षति भएको हो । उक्त आगलागी नेपाल प्रहरी र स्थानीयवासीको सहयोग बेलुका सवा ९ बजे नियन्त्रणमा आएको र अन्य थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।