धरान : धरानमा रहेका खलःपुचःहरूले एकसाथ नेवाः पत्रकार राष्ट्रिय दबू सुनसरीका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाइ ज्ञापन गरेका छन् ।

नेवाः पत्रकार राष्ट्रिय दबू सुनसरीको पदस्थापन र खलःपुचः अन्तरक्रियाको क्रममा सहभागी खलःपुचःका प्रतिनिधिहरूले बधाइ ज्ञापन गरेका हुन् । दबुको चैत ४ गते सम्पन्न पाँचौँ अधिवेशनले मोहन श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको थियो । समितिका पदाधिकारीलाई सोमबार पदस्थापन गराउँदै खलःपुचःबीचमा अन्तरक्रिया पनि गरिएको छ ।

कार्यक्रममा नेवार समुदायको छाता संस्था नेवाः देय दबू सुनसरीका अध्यक्ष तीर्थ मास्केले २०६२/०६३ को जनआन्दोलन पश्चात् जातिहरू सङ्गठित हुँदै आएको सन्दर्भमा नेवाः पत्रकार दब पनि गठन भएको स्मरण गरे । उनले आफ्नो जातिको संस्कार, संस्कृतिको संरक्षण गर्दै आफ्नो समुदायलाई माथि उठाउन पत्रकारको अहम् भूमिका हुने बताए ।

त्यस्तै नेवाः मिसा दबू सुनसरीकी उपाध्यक्ष लक्ष्मी प्रधानले आफ्नो समुदायको संरक्षण र हितका निम्ति नेवारहरू एक ठाउँमा आउनुपर्ने बताइन् । सिद्धि नेवा परिषद्का अध्यक्ष गोकुलप्रसाद श्रेष्ठले आफ्नो जातिलाई माथि उठाउनका लागि राजनीतिभन्दा माथि उठ्न आवश्यक रहेको औँल्याए ।

उनले आफ्नो समुदायलाई उठाउनका लागि सबैले साथ सहयोग गर्न आवश्यक रहेको बताए । त्यस क्रममा उनले नेवाः पत्रकार दब सुनसरीलाई ११ हजार ५ रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता गरे ।

कार्यक्रमका प्रमुख अतिथि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले पत्रकारहरूले सत्य तथ्यको मिहिन अध्ययन गरेर लेख्न आग्रह गरे । उनले भने, ‘विशेष गरी नेवार पत्रकारहरूलाई म आग्रह गर्न चाहन्छु कि सबै बुझेर मात्रै लेख्नुहोला ।’

उनले आफ्नो विषयमा विगतमा गलत समाचार सम्प्रेषण गरेका कारण पनि हल्लाको पछि भन्ने सत्य र तथ्य के हो त्यसको अध्ययन गरेर लेख्न आग्रह गरे। उनले पत्रकार दबूका सदस्य धरानको मात्रै रहेको सन्दर्भ कोट्याउँदै जिल्ला तहमा पनि आफ्ना सदस्यहरू बढाउनका लागि समितिलाई जिम्मेवारी आएको बताए ।

नेवार समुदायको गतिविधिहरूलाई समाचारमा बढीभन्दा बढी समेट्नका लागि नेवाः देय दबू प्रदेश १ की कोषाध्यक्ष चन्द्रा हलुवाईले आग्रह गरिन् । त्यस क्रममा उनले वर्षमा एक जना पत्रकारलाई प्रोत्साहन गर्नका लागि ५ हजार रुपैयाँ राशिको पुरस्कार दिने घोषणा समेत गरिन् ।

त्यस्तै महिला सञ्जालका पूर्व अध्यक्ष समेत रहिसकेकी समाजसेवी शिला बज्राचार्यले पनि महिला पत्रकारहरूलाई बढीभन्दा बढी समेट्न र उनीहरूलाई क्रियाशील बनाउन समितिलाई आग्रह गरिन् । उनले पनि पत्रकार दबूलाई २१ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरिन् ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका उपाध्यक्ष मोहनकाजी शाक्यले नेवार पत्रकार छ भन्ने थाहा भए पनि समिति नै छ भन्नेबारेमा आफूलाई जानकारी नभएको बताए । उनले समितिले उत्तरदायित्व बहन गरेर नयाँ सन्देश दिन आग्रह गर्दै पत्रकार दबूलाई ११ हजार १ सय १ रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।

त्यस्तै सेवक अभियानका अभियन्ता साथै नेवाः देय दबूका नगर सल्लाहकार राजीव हलुवाईले पनि पत्रकार दबूको मातहतमा रहने गरी ५ हजार रुपैयाँ बराबरको प्रोत्साहन पुरस्कार दिने घोषणा गरे ।

धुलिखेल समाजको हलमा आयोजित कार्यक्रममा पत्रकार दबू सुनसरीका संस्थापक अध्यक्ष तथा केन्द्रीय सल्लाहकार महेश श्रेष्ठले पत्रकार दब स्थापनाको आवश्यकता र खलःपुचःसँगको सम्बन्धको आवश्यकताबारे औँल्याएका थिए ।

निर्वाचित अध्यक्ष मोहन श्रेष्ठले पनि ११ हजार १ सय ११ रुपैयाँ पत्रकार दबूको कोषमा रहने गरी रकम दिने घोषणा गरेका छन् । पत्रकार दबूकी जिल्ला उपाध्यक्ष मञ्जु शाक्यले सञ्चालन गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष विनय प्रधानले स्वागत मन्तव्य दिएका थिए ।

पाँचौँ अधिवेशनले अध्यक्षमा मोहन श्रेष्ठ, उपाध्यक्षमा मञ्जु शाक्य, सचिवमा विक्की श्रेष्ठ, सहसचिवमा लक्ष्मण श्रेष्ठ, कोषाध्यक्षमा रश्मि प्रधान, सदस्यहरूमा अनिता श्रेष्ठ, स्नेहा श्रेष्ठ, विक्रान्त श्रेष्ठ, सौरभ श्रेष्ठ, दीपेन्द्र श्रेष्ठ, अनिल श्रेष्ठलाई चयन गरेको छ । उनीहरूलाई प्रमाण पत्र पनि प्रदान गरिएको थियो ।