इटहरी : स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति दिवसको अवसरमा फुटबल प्रतियोगिता हुने भएको छ । जिपि फाउन्डेसन प्रदेश १ खेलकुद विभागको आयोजनामा यहीँ चैत १२ गते प्रतियोगिता सुरु हुने भएको हो ।

इटहरीमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा विभागका अध्यक्ष सूर्य राईले प्रतियोगिता बारे जानकारी गराइएका हुन् । ८ वटा पालिकाका टिम सहभागी हुने कार्यतालिका रहेको उनले बताए ।

विजेता टिमले २ लाख उपबिजेतालाई १ लाख पुरस्कारको व्यवस्था गरिएको । खेलको उद्घाटन इटहरी भर्सेज दमक बिच हुने राईले जानकारी दिए ।

२१ गते फाइनल हुने प्रतियोगितामा सुनसरी जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोग रहने आयोजकले जानकारी दिएको छ ।

२५ लाख अनुमानित खर्च हुने कार्यक्रममा दर्शकहरूको लागि निःशुल्क स्वास्थ्य शिविरको व्यवस्था मिलाइएको राईको भनाइ छ ।

खेलकुदमा स्थानीय तहको भूमिका देखाउन यो प्रतियोगिता प्रभावकारी हुने जिल्ला फुटबल सङ्घ सुनसरीका कोषाध्यक्ष कोविदजङ्ग कार्कीले बताए । यस्ता कार्यक्रमले कोभिडको महामारीका बिच थलिएको खेलकुद क्षेत्र पुनः चलायमान हुने उनको तर्क छ ।

काँग्रेस महामन्त्री डाक्टर शशाङ्क कोइरालाको प्रमुख आतिथ्यता हुने कार्यक्रममा फाउन्डेसनकी केन्द्रीय अध्यक्ष सुजाता कोइरालाको उपस्थिति रहने बताइएको छ । काँग्रेस केन्द्रीय सदस्यहरू डाक्टर शेखर कोइराला, प्रदीप पौडेल र प्रदेश १ सम्सदिय दलका नेता राजीव कोइरालाले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।