धरान : विद्यार्थी आन्दोलन चर्किँदै गएपछि तालाबन्दी भएको इटहरीका निजी कलेजहरू आज देखि सञ्चालनमा आएका छन् ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) सुनसरीले हिजो साँझ प्रेस विज्ञप्ति जारी गर्दै आज देखि कलेजहरू खोलेर पठनपाठन सुचारु गर्ने जानकारी दिएको थियो ।

इटहरी नगर शिक्षा समितिले समस्या समाधान गर्न कार्यदल बनाइसकेको भन्दै हिसानले पठनपाठन सुचारु गर्ने जनाएको हो । आन्दोलनरत विद्यार्थीहरूका प्रतिनिधिहरूले पनि शैक्षिक प्रतिष्ठानहरूलाई पठनपाठन सुचारु गर्न आग्रह गरेको हिसानको विज्ञप्तिमा उल्लेख छ ।

हिसानका अध्यक्ष मुकुन्द घिमिरे र सचिव सागरप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा शिक्षक तथा कर्मचारीहरूको सुरक्षा प्राथमिक चासो भएको पनि उल्लेख छ ।

पठन पाठन सुचारु गर्न साथै शान्ति सुरक्षा कायम गर्न हिसानले स्थानीय प्रशासन र सुरक्षा निकायहरूलाई अनुरोध पनि गरेको छ ।

आज बिहान स्वतःस्फुर्तरुपमा इटहरीका निजी कलेजहरू सञ्चालनमा आएको हिसान सुनसरीका सचिव सागरप्रसाद भट्टराईले बताए । आज बिहान सौहर्दपुर्णरुपमा कलेज सञ्चालन भए ।

Hissan Letter-Student