धरान : उदयपुर चौदण्डीगढी नगरपालिका-४ नमुनाबाट लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी-५ का २३ वर्षीय सुनिल राई,उदयपुर त्रियुगा-१३ का २४ वर्षीय हरि खड्का, ३० वर्षीय खगेन्द्र राई र २४ वर्षीय दीपक रम्तेल रहेका छन् भने सप्तरी कंकालिनीका २० वर्षीय बब्लु मुखिया र २५ वर्षीय ऋषि कुमार क्षेत्री रहेका छन् ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले सोमबार अपराह्न साढे ४ बजे पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट ३ ग्राम ३८ मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर,७ बोतल कोरेक्स, ५० ग्राम गाँजा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यसै गरी उनीहरूको साथमा रहेको ६ थान मोबाइल नगद ३ हजार ५ सय २५ रुपैयाँ समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

यसै गरी झापाको बुद्धशान्ति गाउँपालिका-४ बर्ने स्थित राजमार्गबाट अवैध रूपमा ल्याएको भारतीय मदिरा प्रहरीले बरामद गरेको छ ।

सोमबार राती ११ बजे इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले मे १ ज ३३५१ नम्बरको भ्यान नियन्त्रणमा लिई चेक जाँच गर्दा सिट मुनी लुकाई छिपाई राखेर ल्याएको भारतीय मदिरा SIKKIM GOLDEN नामक ८४ बोतल र फायरबल ११ बोतल फेला पारी बरामद गरेको हो ।

बरामद गरिएको मदिरा, भ्यान र भ्यान चालक इलाम सुर्योद्धय-२ का २८ वर्षीय प्रकाश खड्कालाई आवश्यक कारबाहीका लागी आन्तरिक राजश्व कार्यालय चन्द्रगढी झापामा बुझाई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।