धरान : नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले कार्यकर्तालाई दुःख दिनेलाई नछाड्ने बताएका छन् । नेपाल प्रहरीले कम्युनिस्ट सरकारको आडमा काँग्रेस कार्यकर्तालाई अनावश्यक दुख दिएको भन्दै उनले आक्रोश व्यक्त गरे ।

“पुलिसले कम्युनिस्ट नेताको हैन नेपाली जनताले तिरेको करबाट तलब खाएको छ।' आक्रोशित हुँदै उनले भने, कम्युनिस्ट पार्टीमा प्रवेश नगर्ने भए कारबाही गर्छु भन्ने ? यस्तो पनि हुन्छ ? काँग्रेसका कार्यकर्तालाई दु:ख दिनेलाई हामी छाड्दैनौ, छाड्दैनौ छाड्दैनौ छाड्दैनौँ ।“

५६ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलनको सन्दर्भमा आयोजित समावेशी लोकतन्त्र र संवैधानिक व्यवस्था विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमको धरानको चुम्लुङ हिममा भएको उद्घाटन समारोहमा बोल्दै उनले काङ्ग्रेसकै कारण नहेप्न धम्की दिए ।

दलित सङ्घ केन्द्रीय कार्यसमितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सभापति देउवाले दलित सङ्घका नेताहरूले काँग्रेस लाई भोट हाल्ने वातावरण बनाउनुपर्ने आग्रह गरे । दलितहरूलाई काँग्रेस प्रति आकर्षण बढाउन उनले सुझाए । दलित आयोग गठन गर्ने काम मेरै पालामा सुरु भएको छ । जनता यो देशको मालिक हो । दलित समुदायका नेताहरूलाई जनसम्पर्क बढाएर उनले आग्रह गरे ।

अहिले संयुक्त सरकार भएकोले काँग्रेसले मात्र चाहेर केही नहुने देउवाले बताए । नेपाली काँग्रेस विपक्षी पार्टी भएकोले अब जनताको घरमा जाने बताए । माओवादी पनि सरकारमै सामेल भएकोले काँग्रेसलाई सरकार ढाल्ने र बनाउने हतारो नभएको उनको भनाइ छ । “काँग्रेस अहिले सरकारमा बल गर्दैन र परि आए छाड्दैन पनि,“ उनले भने ।

उद्घाटन समारोहमा बोल्दै नेपाल दलित सङ्घका सभापति मीन विश्वकर्माले विभेदको उन्मुलन गर्ने पार्टी काँग्रेस मात्र भएको धारणा राखे । शेरबहादुर देउवाको पालामा दलित आयोग बनेर दलितको लागि ठुलो अवसर प्राप्त भएको उनको भनाइ छ ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय देखि स्थानीय तह सम्मका नेताहरूको उपस्थिति रहेको थियो । नेपाल दलित सङ्घ, केन्द्रीय कार्यसमितिले समावेशी लोकतन्त्र र संवैधानिक व्यवस्था विषयक प्रदेश १ स्तरीय दुई दिने अन्तरक्रिया कार्यक्रम आज देखि सुरु भएको हो । अन्तरक्रियामा प्रदेश नं १ का १४ जिल्लाबाट सङ्घका अगुवा कार्यकर्ताहरूको सहभागिता रहेको छ ।