धरान : 'लाल किल्ला' भनेर कम्युनिष्टहरुले भ्रम छरेको स्थान धरानबाट छोटो अवधिका लागि भए पनि मेयरमा जित हासिल गरेको भन्दै धरानका मेयर तिलक राई सम्मानित भएका छन् ।

नेपाल दलित सङ्घ केन्द्रीय कार्यसमितिले समावेशी लोकतन्त्र र संवैधानिक व्यवस्था विषयक प्रदेश १ स्तरीय दुई दिने अन्तरक्रिया कार्यक्रमको उद्घाटन समारोहमा नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले सम्मान-पत्र सँगै दोसल्ला ओढाएर मेयर राईलाई सम्मान गरेका हुन् ।

छोटो समयमा पनि राम्रो र धरानको विकास निर्माणसँगै धरानवासीमा लोकप्रियता हासिल गर्न सकुन् भन्दै सम्मान गरिएको नेपाल दलित सङ्घका केन्द्रीय अध्यक्ष तथा पुर्वमन्त्री मीन विश्वकर्माले बताए ।

धरानका मेयर तिलक राईसँगै दुहबी नगरपालिकाका मेयर वेद गच्छदारलाई दलित आवास योजना कार्यक्रम आफ्नो नगरपालिकामा सम्पन्न गरेको भन्दै सम्मान गरिएको छ। यस्तै धनगढी उपमहानगरपालिकाका मेयर नुर्प ओडलाई पनि सम्मान गरिएको छ ।

मेयर ओडले धनगढी उपमहानगरपालिकालाई नमुना उपमहानगर बनाउन सफल भएको भन्दै सम्मान गरिएको हो ।

यसैगरी व्यवसायीहरूको सङ्गठन उद्योग बाणिज्य संघ इटहरीमा विजयी हासिल गरेको भन्दै व्यावसायी भीम पौडेललाई पनि सम्मान गरिएको छ ।

यस्तै व्यापार व्यवसायको क्षेत्रमा लोकप्रियता हासिल गरेको भन्दै बराह ग्रुप धरानलाई पनि सम्मान गरिएको छ ।