धरान : छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि आउँदै गरेको फागु पूर्णिमा होलीको अवसरमा भिडभाड जमघट नगर्न भन्दै सूचना जारी गरेको छ ।

छिमेकी मुलुक भारतमा कोभिड–१९ को प्रकोप थप सक्रिय भई सङ्क्रमणको दर बढ्न गएको तथा उक्त महामारीका कारण मृत्युदरमा समेत वृद्धि भएकोले खुला सीमा नाकाहरूबाट जनमानसको आवतजावत बढ्न गएको सन्दर्भमा गृह मन्त्रालयबाट कोभिड-१९ को सङ्क्रमण बढ्न नदिन स्वास्थ्य मन्त्रालयबाट प्रेस विज्ञप्ति मार्फत सबै नागरिकहरूलाई सजग र सतर्क रही स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने तथा थप सावधानी अपनाउन सबैको जानकारीको लागि भन्दै आज एक सूचना जारी गरेको छ ।

कोभिड-१९ सङ्क्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालनमा आएका क्वारेनटिन, आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राखी स्वास्थ्य केन्द्रहरुवाट प्रदान गरिने सेवालाई अझ प्रभावकारी बनाउन स्वास्थ्य कार्यालय तथा सबै स्थानीय तहहरूले आवश्यक तयारी गर्ने/गराउने सूचनामा भनिएको छ ।

कोभिड-१९ सङ्क्रमण थप फैलन नदिन विद्युतीय माध्यमबाट चेतनामूलक सन्देश प्रसारण गर्ने तथा स्वास्थ्य परीक्षण गराई सङ्क्रमणको अवस्था पहिचान स्वास्थ्य कार्यालय तथा सबै स्थानीय तहहरूले गर्ने गराउने भनिएको छ ।

सूचनामा स्यानिटाइजर, मास्क, सामाजिक दुरीको पूर्ण पालना गर्न गराउन स्थानीय तह र सुरक्षा निकायहरूलाई कडाइ गर्न निर्देशन दिइएको छ ।

रात्रिकालीन समयमा सञ्चालन हुने व्यवसायको सन्दर्भमा जिल्लाको कोभिड-१९ सङ्क्रमणको अवस्था समेत विचार गरी भिडभाड नगर्ने र अबेरसम्म व्यवसाय सञ्चालन नगर्ने/नगराउने । सीमा नाकाहरूबाट आउने व्यक्तिहरूको सम्बन्धमा यात्रुहरूको आवतजावतलाई व्यवस्थित गरी उनीहरूको अनिवार्य अभिलेख राख्ने उनीहरूको अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गराएर मात्र नेपाल प्रवेश गराउने व्यवस्था स्वास्थ्य कार्यालय तथा स्थानीय तहले मिलाउने सूचनामा भनिएको छ ।

CDO-Suchana