धरान : धरानमा १ जना सहित आज प्रदेश १ मा १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार आज विराटनगर महानगरपालिकामा ४ पुरुष, ६ महिला सहित १० जना, धरान उपमहानगरपालिकामा १ जना पुरुष र इनरुवा नगरपालिकामा २ पुरुष गरी जम्मा ६ महिला ७ जना पुरुष सहित १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो समय कोरोना सङ्क्रमण छिमेकी राष्ट्र भारतमा बढेकोले सीमा नाकाहरूमा कडाइ र सतर्कता नअपनाइएको कारण प्रदेश १ मा पनि कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेको स्वास्थ्य विज्ञहरूले बताएका छन् ।

प्रदेश १ मा हालसम्म २ लाख २८ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ३० हजार ३०७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएका मध्ये २९ हजार ७९७ जना डिस्चार्ज भएका छन् ।

४४ जना आइसोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सङ्क्रमण देखिएका मध्ये ४६६ जनाको मृत्यु भएको छ । प्रदेश १ मा कोभिड १९ विरुद्धको खोप २ लाख ९८ हजार ८५३ लाई लगाइएको छ ।