धरान : इलाका प्रहरी कार्यालय धरानले हराएका तथा चोरी भएका मोबाइलहरू फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।

गत ३ महिनाको अवधिमा हराएका तथा चोरी भएका १ सय ३५ वटा निवेदन परेको धरान प्रहरीले जनाएको छ । निवेदन अनुसार सेवा प्रदायक कम्पनीहरु संगको समन्वयमा ईएमआईई विवरण माग गरी मोबाइलहरूमा प्रयोग भएको नम्बरको ट्रेस गरी ६४ थान मोबाइल फेला पारेर प्रहरीले मोबाइल धनीलाई बुझाएको हो ।

फेला परेका उक्त आइफोन, भिभो र स्यामसुङको गरी ६४ थान मोबाइलको अन्दाजी मूल्य १६ लाख बराबर रहेको प्रहरीले बताएको छ। भेटिएका मोबाइलका धनी मध्ये सुमन राई, मिलन राई, विज्ञान श्रेष्ठ र अन्जु क्षेत्रीले निकै महत्त्वपूर्ण डकुमेन्ट भएको हराएको मोबाइल भेटिदिएकोमा प्रहरीलाई धन्यवाद समेत दिएका थिए ।

chori-moblie-1

कसरी भेटिन्छ हराएको मोबाइल ?

कसैको मोबाइल हराएमा हराउनेले प्रहरीमा उजुरी दिनुपर्छ । मोबाइलमा रहेको ‘ईएमआईई’ भनिने इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टी नम्बर दिएर उजुरी गर्नुपर्छ । यसरी ईएमआईई नम्बर भएको मोबाइल हराएर अर्को सिम लगाए पनि त्यो मोबाइल सेट कहाँ सञ्चालन भएको छ भनेर थाहा हुने प्रहरीको भनाइ छ ।

मोबाइल अफ हुँदा थाहा नहुने तर अन हुँदा भने सजिलै पत्ता लाग्ने धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताए। उनी भन्छन् । ‘सिम फालेर प्रयोग गरे पनि मोबाइल अन हुने बित्तिकै मोबाइल कहाँ छ पत्ता लाउन सकिन्छ, यसरी पत्ता लाएरै हामीले मोबाइल सङ्कलन गरेका हौँ ।’

धरानबाट हराएका मोबाइल सुर्खेत, नेपालगन्ज, भोजपुर र पोखरासम्म पुगेको पाइएको बस्नेतले बताए । हराएको मोबाइल भेट्टाउनेलाई कारबाही नहुने तर चोरेकोमा भने चोरलाई पनि आवश्यक कारबाही हुने उनले बताए ।

उनले भने, ‘हामीलाई उजुरीमा चोरी भएको छ भने चोरीको मुद्दा चलाउँछौँ । तर हराएको भनिएको छ भने केही कारबाही चलाउँदैनौँ ।’ हराएका ६४ मोबाइलका केसहरूमा २ वटा मात्रै चोरीको आएको र बाँकी सबै हराएको भनेर उजुरी आएको उनले बताए ।