धरान : इटहरीका संस्थागत विद्यालयको कक्षा ११ र १२ मा देखिएको शुल्क सम्बन्धी समस्या समाधानका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको छ ।

इटहरी उपमहानगर वडानम्वर-४ का अध्यक्ष चन्द्र भट्टराईको संयोजकत्वमा गठित कार्यदलले इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीलाई प्रतिवेदन बुझाएको हो ।

विभिन्न सरोकारवालाहरू सँग छलफल गरेर सुझाव प्रतिवेदन बुझाएको संयोजक भट्टराईले बताए । समयमै प्रतिवेदन बुझाएकोमा प्रमुख चौधरीले कार्यदललाई धन्यवाद ज्ञापन गरे ।

बिहीबार बिहान नगर शिक्षा समितिको बैठक बसेर सुझाव माथि छलफल गरिने भएको छ । चैत ८ गते बसेको नगर शिक्षा समितिको बैठकले कार्यदल बनाएको थियो ।

कोरोना महामारीको समयको समेत निजी कलेजले शुल्क लिएको भन्दै विद्यार्थीहरू आन्दोलित भएका थिए ।