धरान : धरान १८ रत्न चौकमा रहेको युवाहरूलाई गोर्खा भर्तिकालागी तालीम प्रदायक संस्था गोर्खा कम्पनी सेन्टरले आफू विरुद्ध राजधानीको एक सञ्चार गृहले गलत समाचार प्रसारण गरी भ्रम सृजना गरेको  तथा मानहानि गरेको भन्दै आपत्ति जनाएको छ ।

 ट्रेनिङ सेन्टरले आफ्नो सेन्टरमा तालिमकालागी भर्ना भएका ४ जना विद्यार्थीलाई फागुन २८ गते अनुशासनको कारबाही गरी निष्कासन गरेका र ती  विद्यार्थीहरूले दिएको अरू ट्रेनिङ  सेन्टरको उक्साहटमा परी एकपक्षीय जानकारी तथा भ्रमपूर्ण सूचना न्युज २४ टेलिभिजनलाई दिएका थिए । 

सोही विषयमा टेलिभिजनले केही अघि  भ्रमपूर्ण र गलत समाचार सम्प्रेषण गरेको भन्दै ट्रेनिङ सेन्टरले  पत्रकार सम्मेलन गरेर आपत्ति जनाएको हो। 

ट्रेनिङ सेन्टरका प्रबन्ध निर्देशक प्रेम राईका अनुसार अनुशासनको कारबाहीमा परेका ४ जना विद्यार्थीहरू अविरल राई, सौगात निरौला, अनिल लावती र राजेश चौधरीलाई अनुशासनहीन भएको भन्दै निष्कासन गरेपछि विवाद सुरु भएको हो । 

ती चार जनाले भनेको आधारमा न्युज २४ ले लाहुरे बन्ने सपना बोकेर आएका चार जनालाई विना कारण निष्कासन गरेको, महँगो शुल्क असुलेको, तालिम स्थलमा ठाउको अभाव भएको जनाएको छ तर,सेन्टरका प्रबन्ध निर्देशक  राईले भने, ‘सिनियर प्रशिक्षक गुरुहरूले सिकाएको अनुशासन विपरीत काम गर्ने, विद्यार्थी साथीभाइलाई हातपात गर्ने,  महिला  विद्यार्थी साथीहरूको अघि सुन्नै नसक्ने गरी  अश्लील अपशब्द प्रयोग गर्ने र बारम्बार सचेत गराउँदा समेत उनीहरूमा कुनै सुधार नआएकाले बाध्य भएर सेन्टरको नियम अनुसार अनुशासनको कारबाही गरी  निष्कासित गरेको हो । त्यही विषयलाई लिएर उनीहरूले गलत समाचार न्युज २४ लाई दिएकोमा हाम्रो आपत्ति छ ।’

उनले वास्तविकता भन्दा पर गएर  एकपक्षीय रूपमा प्रसारित गरेको उक्त समाचारलाई सुधार गरेर पुन: प्रसारण नगरे सेन्टरले न्युज २४ च्यानल विरुद्ध  मानहानिको मुद्दा दर्ता दायर गरी कानुनी बाटो अपनाउने चेतावनी दिएका छन् ।

यसअघि ती निष्कासित विद्यार्थीहरूले चैत २ गते इलाका प्रहरी कार्यालय धरानमा सेन्टर विरुद्ध ठगी निवेदन दिएका थिए । सो विषयमा चैत ३ गते  भएको छलफलमा इप्रकाका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले सेन्टरले पेस गरेको प्रमाणहरूका आधारमा सेन्टरलाई निर्दोष साबित  गरेको  थियो ।

सेन्टरमा तालिम गर्न आएका चार जनाले सेन्टरले ठगी गरेको भनेर उजुरी दिनु र न्युज २४ च्यानलमा गलत प्रसारण हुनुलाई गोर्खा  कम्पनी ट्रेनिङ सेन्टर विरुद्ध केही अन्य ट्रेनिङ सेन्टर लागेको प्रेम राईले बताए ।

उनले भने, ‘हामीले गोर्खा   भर्तीको नाममा  हुँदै गरेको भ्रष्ट्राचार  र दलालाीहरुको  विरोध गर्दै आएका छौँ । गोर्खा भर्ती एउटा गरिब परिवारको छोरालाई एउटा सुनौलो मौका हुँदै गएको छ । तर, केही ट्रेनिङ सेन्टर सञ्चालन गर्दै आएका  सञ्चालकहरूले र अन्य केही दलालहरूले भर्ती लगाइ दिने प्रलोभन देखाएर   सयौँ युवाहरूलाई प्रत्येक वर्ष ठगी गर्दै आएको बारे भन्दै आएका छौँ । यही विषय मन नपरेर गोर्खा कम्पनी ट्रेनिङ सेन्टर विरुद्ध लागेका होलान् ।’

सेन्टरले ठगी र दलाली विरुद्ध कलम चलाउने र वीर गोर्खालीहरूको  विषयमा कलम चलाउने सञ्चार कर्मीहरूलाई सम्मान स्वरूप सेन्टरले नगद राशि ५० हजार रुपैयाँको वीर गोर्खा पत्रकारिता पुरस्कार र २० हजार रुपैयाँको वीर गोर्खा नवप्रतिभा पत्रकारिता पुरस्कार राखेको छ ।

उक्त पुरस्कार वैशाख १ गते वितरण गर्ने पनि सेन्टरले जनाएको छ । 

फोटो तथा भिडियो : संगीता बाहिङ