धरान : नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष शेखर गोल्छाले देशभरिका सदस्यहरूको विभिन्न प्रकारका समस्याहरूको समाधान गर्न छुट्टै सेल गठन गर्ने बताएका छन् ।

समृद्धिका लागि "राष्ट्रिय आर्थिक रूपान्तरण मार्गचित्र-२०३०" (भिजन पेपर) तयार गर्ने सन्दर्भमा बुधवार विराटनगरको होटल एशियाटिकमा आयोजित कार्यक्रममा गोल्छाले सदस्यहरूको बैंकिङ्ग सम्बन्धी समस्या, इस्योरेन्स सम्बन्धी समस्या जस्ता विभिन्न समस्याहरूको समाधानका लागि अदालत जानु पूर्व सम्बन्धित क्षेत्रसँग महासङ्घद्वारा गठित सेलले मेलमिलापको वातावरण तयार गर्ने बताए ।

'हामी चाहन्छौँ, महासङ्घ सबै उद्योगी व्यवसायीको शीतल छहारी होस र म सम्मान प्राप्तिको लागि हैन, काम गर्न आएको हु, काम गर्छु र सबै व्यवसायीको समस्या समाधान गर्ने प्रयास गर्छु' गोल्छाले भने ।

नेपाल उद्योग वाणिज्य महासङ्घले समृद्धिका लागि निजी क्षेत्रको तर्फबाट २५० पेज भन्दा बढीको भिजन पेपर तयार गरेको छ। महासङ्घको आगामी चैत्र २७-२८ गते हुने साधारण सभामा विमोचन गरेर प्रधानमन्त्रीलाई हस्तान्तरण गरिने सो भिजन पेपरको अन्तिम छलफल बुधवार गरिएको थियो ।

निजी क्षेत्रको तर्फबाट पहिलो पटक तयार गरिएको उक्त भिजन पेपरमा सन् २०३० सम्ममा दोहोरो अङ्कको आर्थिक वृद्धिदर मार्फत नेपालमा १ सय अर्ब डलरको अर्थतन्त्र, दिगो उच्च आर्थिक वृद्धि मार्फत अतिरिक्त २२ लाख रोजगारी सृजना र लगानी अभिवृद्धि गरी व्यापारमा निर्यातको हिस्सा बढाई व्यापार घाटा कम गर्ने जस्ता भिजन समेटिएको छ ।

प्रदेश नं. १ र २ का उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरू सहभागी उक्त कार्यक्रममा सुनसरी उद्योग वाणिज्य सङ्घका विष्णु बरालले समेत उद्योगी व्यवसायीहरूको समस्याहरूका बारेमा सामूहिक धारणालाई प्रस्तुत गरेका थिए ।

Bishnu-Baral

नेपालउद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा महासङ्घका उपाध्यक्ष रामचन्द्र संघाईले कार्यक्रमका सन्दर्भमा जानकारी गराएका थिए भने महासङ्घका उपनिर्देशक गोकर्ण अवस्थीले कार्यक्रमको सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं. १ का अध्यक्ष टीकाराज ढकाल, बारा उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार शाह, उर्लाबारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रितम खड्गी लगायतले आफ्नो धारणा राखेका थिए ।