धरान : इटहरी प्रहरीले ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

इटहरी उप–महानगरपालिका-९ का २० वर्षीय लैजान आलम र इनरुवा नगरपालिका-१० का ४१ वर्षीय जल्लाउदिन मियाँ ठगी गरेको आरोपमा पक्राउ परेका हुन् ।

पक्राउ परेका दुवै जनाले इटहरी-८ का यज्ञ विक्रम ठकुरीलाई आर्थिक प्रलोभन देखाई नक्कली सुनका सिक्काहरू दिई रकम ठगी गरेको भन्ने सूचनाका आधारमा खोजतलास गर्ने क्रममा दुवै जना पक्राउ परेका हुन् ।

उनीहरूले ठकुरीलाई विभिन्न प्रलोभन देखाई सक्कली सुन भनी नक्कली सुनको सिक्का दिई ठकुरीबाट ४ लाख नगद लगेको र सम्पर्क विहीन भए सँगै आफू ठगिएको थाहा पाई ठकुरीले इलाका प्रहरी कार्यालय इटहरीमा जानकारी गराएका थिए ।

ठगी भएको सूचना पाए सँगै ठगी गर्ने व्यक्तिहरूको खोजतलासमा खटिएको प्रहरी टोलीले दुवै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।