झापा : जिल्ला प्रशासन कार्यालय झापाले रेल्वे प्रभावितहरूलाई मुआब्जा वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले रेल्वे मार्ग प्रभावितका लागि मुआब्जा वितरण गर्न जग्गा तथा संरचनाको मूल्याङ्कन गर्ने कार्य सकिएको बताएका छन् । बिर्तामोडस्थित संवाद समूहको कार्यालयमा बिहीबार प्रजिअ तिमिल्सिना सहित सुरक्षा निकायका प्रमुखहरूबिच भएको छलफलमा त्यस्तो बताइएको हो ।

रेल्वे प्रभावितहरूको माग र सङ्घर्षप्रति लक्षित उनले केही समय धैर्य गर्न प्रभावितहरूलाई आग्रह गरे । ‘चलनचल्तीको मूल्यभन्दा पनि बढी मुआब्जा दिने गरी मूल्याङ्कनको काम सकिएको छ’ प्रजिअ तिमिल्सिनाले भने ‘त्यस बारे चैत अन्तिमसम्ममा निर्णय गरी ३५ दिने सूचना जारी गरेर प्रभावितको निवेदनका आधारमा मुआब्जा वितरण गरिनेछ ।’ आगामी वैशाखमा मुआब्जा वितरण सुरु हुने उनले बताए ।

झापा, मोरङ र सुनसरीमा एकै पटक मुआब्जा वितरण गर्ने बुझिएको छ । झापाको छ पालिकाका २५ वडामा मुआब्जा वितरण गरिने बताइएको छ । उक्त कार्यका लागि उपसमितिले आवश्यक सबै काम सम्पन्न गरेको प्रजिअ तिमिल्सिनाले बताए । स्रोतका अनुसार तीन जिल्लामा करिब १५ अर्ब रुपैयाँ मुआब्जामा खर्च हुनेछ ।

प्रजिअ तथा सुरक्षा प्रमुखहरूबिच कोभिड-१९को दोस्रो लहर र झापामा आवश्यक सुरक्षा सतर्कता अपनाउने, विपद्को पूर्व तयारी, लागूऔषध लगायत जिल्लाका विविध समस्यामा छलफल भएको थियो ।