धरान : धरान प्रहरीले धरान-१५ बाट ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरेको छ ।

धरान उपमहानगरपालिका वडानं-१५ बस्ने विधान आले मगरको घरमा लागु औषधको कारोबार हुने गरेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले बुधवार दिउसो अन्दाजी १ बजे घर कोठामा खानतलासी गर्दा ११ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

कोठा भित्र रहेको फ्रिज भित्र लुकाई छिपाई राखेको अवस्थामा सो परिणामको ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।

लागुऔषध कारोबारमा संलग्न भएको भनी धरान-१५ का १९ वर्षीय मनुषा तामाङ, २२ वर्षीय सुजन धमला, २५ वर्षीय विधान आले मगर र धरान-१७ बस्ने २१ वर्षीय अर्पण धमलालाई लागु औषध ब्राउनसुगर सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

उनीहरूलाई आज सुनसरी जिल्ला अदालतमा पेस गरी ७ दिनको म्याद थप गरी थप अनुसन्धान प्रहरीले अगाडी बढाएको छ ।