इटहरी : नेपाली काँग्रेसका महामन्त्री डाक्टर शशाङ्क कोइरालाले आगामी १४ औँ महाधिवेशनमा उम्मेदवारको तयारी अन्तिम चरणमा रहेको बताएका छन् ।

कोइराला परिवारका डाक्टर शेखर, सुजता र आफू मध्ये एक जना मात्र सभापतिको उम्मेदवार हुने उनले बताए ।

जिपि फाउन्डेसनको खेलकुद विभाग प्रदेश १ ले आयोजना गरेको अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कोइराला परिवारका तीन जना एक भएको जानकारी दिए ।

एउटै मञ्चमा देखिएका तिनैजनाले सहमति सहकार्य एकताको पक्षमा आफूहरू रहेको बताए । यस अघि जिपि फाउन्डेसन प्रदेश १ समितिले विराटनगरमा आयोजना गरेको कार्यक्रममा पनि तिनै कोइरालाहरूले एक भएर जाने सङ्कल्प गरेका थिए ।

बिहीबार देखि सुरु भएको फुटबल प्रतियोगिता चैत २१ गते फाइनल हुने विभागका अध्यक्ष सूर्य राईले बताए । पहिलो खेल इटहरी भर्सेस दमकका बिच भएको छ ।