इटहरी : इटहरीमा भूमि सम्बन्धी समस्या समाधानका लागि अन्तरक्रिया सम्पन्न भएको छ ।

इटहरी उपमहानगरको आयोजनामा भूमि सम्बन्धी समस्या समाधानमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया भएको हो । इटहरीका सबै जनप्रतिनिधि, वडा सचिवहरू र राजनीतिक दलका प्रतिनिधिहरूको अन्तरक्रियामा सहभागिता रह्यो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद सर्वध्वज सावाँले स्थानीय सरकारको काँघमा भूमि सम्बन्धी समस्या समाधान गर्ने ऐतिहासिक जिम्मेवारी आएको बताए । उनले द्रुत गतिमा काम अघि बढाउनुपर्नेमा जोड दिए ।

इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले भूमि सम्बन्धी समस्या समाधान गरेर सुकुम्वासी विहीन नगर बनाउने सपना साकार बनाउने अवसरलाई सदुपयोग गर्ने बताए।

उनले गलत व्यक्तिले फाइदा नउठाउन भनेर सजग रहनुपर्ने बताए । उपप्रमुख लक्ष्मी गौतमले अन्तरक्रियाको उद्देश्य माथि प्रस्ट पारेका थिए ।

उनले इटहरी उपमहानगरका प्रमुखको संयोजकत्वमा भूमि सम्बन्धी समस्या समाधान मूल समिति र वडाहरूमा वडाध्यक्षको संयोजकत्वमा वडा स्तरीय सहजीकरण समिति गठन गरिएको जानकारी दिए ।

कार्यक्रममा भूमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य गोपाल गुरागाईँले आयोग गठनको उद्देश्य र संवैधानिक कानुनी प्रबन्ध र स्थानीय निकायको दायित्वका बारेमा प्रस्ट पारेका थिए ।

यसैगरी भूमि सम्बन्धी समस्या समाधान आयोग सुनसरीका अध्यक्ष खेमराज पोखरेलले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित वसोवासी प्रमाणीकरणका आधारहरूका बारेमा जानकारी गराए ।

यसैगरी भूमि सम्बन्धी समस्या समाधान आयोग मोरङका अध्यक्ष डिपि साम्पाडले भूमिहीन दलित,भूमिहीन सुकुम्वासी र अव्यवस्थित वसोवासीको लगत सङ्कलन सम्बन्धी कार्यविधिका बारेमा प्रस्ट पारेका थिए ।

भूमि सम्बन्धी समस्या समाधान आयोग सुनसरीका सदस्य सूर्य राईले सुनसरीमा आयोगले गरिरहेका कार्यका बारेमा जानकारी दिएका थिए ।