विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज तेस्रो पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दै छन् ।

मुख्यमन्त्री राईले आर्थिक मामिला तथा योजना मन्त्रीमा टङ्क आङबुहाङ, सामाजिक विकास मन्त्रीमा उषाकला राई, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा राजकुमार ओझा, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा कला घलेलाई नियुक्त गरेका छन् ।

यसअघि राज्यमन्त्री रहेका अम्विरबाबु गुरुङ र रामबहादुर रानालाई मन्त्री बनाइएको छ ।  अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री र राम राना कृषिमन्त्री भएका छन् ।  नव नियुक्त मन्त्री र राज्य मन्त्रीको शपथ आज दिउँसो १ बजे हुँदै छ ।

नवनियुक्त मन्त्रीहरूमा माओवादी छाडेर एमाले प्रवेश गरेका र एमालेमा गुट परिवर्तन गरेकाहरू छन् । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रदेश १ मा सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले पुस १२ गते राजीनामा दिएर आन्दोलनमा गएका थिए ।

आर्थिक मामिलाबाट इन्द्र आङवोलाई पुस ११ गते मुख्यमन्त्री राईले बर्खास्त गरेका थिए ।