इटहरी : धरान उपमहानगरपालिकाले इटहरीमा जारी स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

जिपि फाउन्डेसन प्रदेश १ खेलकुद विभागको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत शुक्रवारको खेलमा उर्लाबारी नगरपालिका माथि २-० को जित निकाल्दै धरान सेमिफाइनलमा प्रवेश गरेको हो ।

धरानको जितमा एन्सन राई र मिलन लिम्बुले एक-एक गोल गरे। राईले खेलको ५१ औ मिनेटमा गोल गरे भने लिम्बुले खेलको ८३ औ मिनेटमा गोल गरे। उक्त खेलको म्यान अफ द म्याच धरानका एन्सन राई घोषित भए ।

भोलि शनिवारको खेल सुनसरीको इनरुवा नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिका बिच हुने आयोजक समितिका अध्यक्ष सूर्य राईले जानकारी दिए।

इटहरी स्थित क्षेत्रीय रङ्गशालामा जारी प्रतियोगितामा प्रदेश एकका ८ वटा नगरपालिकाका टिम सहभागी छन् । प्रतियोगिताको विजेता टिमले २ लाख उपबिजेतालाई १ लाख पुरस्कार पाउने छन् ।

चैत्र २१ गतेसम्म चल्ने प्रतियोगितामा २५ लाख अनुमानित खर्च हुने बताइएको छ । प्रतियोगिताको बिहीबार काँग्रेस महामन्त्री डाक्टर शशाङ्क कोइरालाले औपचारिक रूपमा उद्घाटन गरे पनि बिहीबारको खेल समय अभावका कारण स्थगित भएपछि प्रतियोगिता शुक्रवारबाट सुरु भएको हो ।