इटहरी : लकडाउनको समयको शुल्क मिनाहाकोलागी इटहरीका निजी कलेजका विद्यार्थी आन्दोलनरत छन् । शुक्रवार (आज) टुङ्गो लगाउने गरी सहमति गर्ने भनिए पनि मागको बेवास्ता गरिएको भन्दै अझै सशक्त आन्दोलनको तयारी थालेको बिद्यार्थीहरु बताउँछन् ।

लकडाउनको समयको समेत शुल्क लिन पाउने गरी इटहरी उपमहानगरपालिका शिक्षा महाशाखाले गरेको निर्णय विद्यार्थीले नमान्ने भएका छन् ।

२ महिनाको मात्र शुल्क मिनाहा गर्ने भनी गरिएको निर्णय खेदजनक भएको उनीहरू बताउँछन् । आन्दोलनरत विद्यार्थी समीप नेपालले शिक्षा शाखाको निर्णय प्रति घोर आपत्ति रहेको बताए ।

विद्यार्थीको आन्दोलन तुहाउने खेलमा उपमहानगर

लकडाउनको समयको शुल्क मिनाहाको माग राख्दै उपमहानगरपालिका घेराउ देखी चक्का जाम समेत गरेका विद्यार्थीको आन्दोलन तुहाउने खेलमा स्वयम् उपमहानगरपालिका लागेको बुझिएको छ ।

वडा नम्बर ४ का वडाध्यक्ष चन्द्र प्रसाद भट्टराईको नेतृत्वमा बनेको एक समितिले बुझाएको प्रतिवेदनको आधारमा शुक्रवार निर्णय गरिएको हो । मेयर संयोजक हुने शिक्षा समिति भने अझै सम्म मौन देखिन्छ ।

निर्णय पत्रमा गाडी नचलेको समयको भाडा नलिने, परीक्षा सञ्चालन नभएको समयको परीक्षा शुल्क नलिने, महामारीबाट सिर्जित शुल्क सम्बन्धी समस्याको लागी शिक्षकहरु सँग समन्वय गर्ने, आन्तरिक समस्यालाई वार्ताद्वारा हल गर्ने निर्णय भएको छ ।

साथै १२ महिना मध्ये २ महिनाको शुल्क नलिने तर यस अघि कुनै सुविधा लिएको भए शुल्क लिन पाउने भनी निर्णय पत्रमा उल्लेख गरिएको छ । कर्मचारी माथि साङ्घातिक आक्रमण भएको र विद्यालय तोडफोड भएकोमा दु:ख व्यक्त गर्दै आगामी दिनमा यस्ता अराजक गतिविधि हुन नदिने निर्णय भएको उल्लेख छ ।

तर सो निर्णय मान्य नहुने विद्यार्थीले जनाएका छन् । आन्दोलनरत विद्यार्थी सिया शर्मा यो खेदजनक निर्णय भएको बताउछिन । ५ महिना कक्षा सञ्चालन गरेर १० महिनाको शुल्क लिन पाउने गरी निर्णय भएको उनको भनाई छ ।

“कुनै सुविधा लिएको भए” भनेर अनलाईन कक्षामा सामेल भएको देखाएर पूर्ण शुल्क लिने प्रावधान राखिएको छ । यसले विद्यार्थीको मागलाई पुर्णत बेवास्ता गरेको देखिन्छ ।

आन्दोलनरत विद्यार्थी भने अझै आन्दोलन जारी राख्ने योजनामा छन् । एक विद्यार्थीका अनुसार आइतबार सबै कलेजमा तालाबन्दी गर्ने र अनिश्चीतकालीन शैक्षिक हडताल गर्ने योजना बनेको छ । बारम्बार झुलाउने काम भइरहेकाले अब झनै सशक्त आन्दोलनको तयारी भएको उनले सुनाए ।

Itahari-Student-Sahamati