धरान : गए राती धरान-१८ रत्न चौकमा रहेको गोर्खा कम्पनी ट्रेनिङ सेन्टरका सञ्चालक प्रेम राईले आफूमाथि सामूहिक आक्रमण भएको भन्दै इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएका छन् ।

सामूहिक रूपमा शुक्रबार विहान ९:४० बजे केही मान्छे छलफल गर्न आएको भन्दै सेन्टर भित्र पसेर हातपात गरी कुटपिट गर्ने खोजेको भन्दै प्रेमले सोही दिन साँझ इलाका प्रहरी कार्यालय धरानमा बिफ आर्मी सेन्टरका सञ्चालक पर्वत राई सहित ३ जनालाई अभद्र व्यवहारको जाहेरी दर्ता गरेको धरानका इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए ।

प्रेमले इलाका प्रहरी कार्यालयमा दिएको जाहेरीमा ३०/३५ जना छोरा मानिस नेपाल फिजिकल ट्रेनिङ एशोसिएनबाट छलफल गर्न आएको भनी गुन्डा गर्दी शैलीमा प्रवेश गरी कठालोमा समातेर पत्रकार सम्मेलन किन गरेको भन्दै हातपात गरी कुटपिट गर्ने खोजेको उल्लेख छ ।

सेन्टरमा अध्ययनरत विद्यार्थीहरूलाई 'भोलि देखी यहाँ देखे भने कुटाई खाने छौ' भनेको पनि जाहेरीमा उल्लेख छ । सेन्टरका १७ जना विद्यार्थी राती नै डरले घर गएका छन् ।

यस विषयमा पर्वत राईसँग कुरा गर्दा उनले भने ‘प्रेमले फेसबुकमा नेपाल फिजिकल ट्रेनिङ एशोसिएलाई भ्रष्ट्राचार र दलाली गरेको भनेर लेखेको रहेछ, डिलिट गर भनेको मानेन र प्रेमले सहकारीमा पैसा ठगी गरेकाले पैसा माग्न भनेर छलफल नै गर्न पुगेको हुँ ।'

पर्वतका अनुसार उनी सेन्टरबाट सामान्य कुरा सकेर आफू छिटो निस्केको अन्य झगडाको बाँकी कुरा थाहा नभएको बताए । पर्वतले भने अनुसार धरान १८ का वडाध्यक्षको समेत उपस्थित रहेको थियो ।

इन्स्पेक्टर ओलीले दुवै पक्षलाई इलाका प्रहरी कार्यालयमा आज ११ बजे पछि बोलाएर छलफल गर्ने दुवै पक्षको झगडा नमिलेमा थप कानुनी प्रक्रिया अपनाउने बताएका छन् ।

गोर्खा ट्रेनिङ सेन्टरले आफ्नो सेन्टरमा तालिमका लागी भर्ना भएका ४ जना विद्यार्थीलाई फागुन २८ गते अनुशासनको कारबाही गरी निष्कासन गरेको र ती विद्यार्थीहरूले दिएको अरू ट्रेनिङ सेन्टरको उक्साहटमा परी एकपक्षीय जानकारी तथा भ्रमपूर्ण सूचना न्युज २४ टेलिभिजनले समाचार सम्प्रेषण गरेको भन्दै ट्रेनिङ सेन्टरले पत्रकार सम्मेलन गरेर आपत्ति जनाएको थियो ।

सेन्टरको अनुशासनको कारबाहीमा परेका ४ जना विद्यार्थीहरू अविरल राई, सौगात निरौला, अनिल लावती र राजेश चौधरीलाई अनुशासनहीन भएको भन्दै निष्कासन गरेपछि निष्कासन गरिएका विद्यार्थी बिफ सेन्टरमा गए पछि विवाद सुरु भएको बुझिएको छ ।

यसअघि ती निष्कासित विद्यार्थीहरूले चैत २ गते इलाका प्रहरी कार्यालय धरानमा सेन्टर विरुद्ध ठगी निवेदन दिएका थिए । सो विषयमा चैत ३ गते भएको छलफलमा इप्रकाका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले सेन्टरले पेस गरेको प्रमाणहरूका आधारमा सेन्टरलाई निर्दोष साबित गरेका थिए ।

Jaheri