धरान : धरानमा मोबाइल मर्मत र सिलाई कटाई तालिम सुरु भएको छ ।

शुक्रवारबाट सुरु भएको मोबाइल मर्मत तालिममा ४० जना युवायुवतीहरू सहभागी छन् भने एक हप्ता अघिबाट सुरु भएको सिलाई कटाई तालिममा २० जना महिलाहरू सहभागी भएका छन् ।

नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको समृद्धि परियोजनाको सहयोग तथा हेल्भीटास नेपालको प्राविधिक सहयोगमा धरान १५ स्थित पूर्वाञ्चल बहुप्राविधिक तालिम केन्द्रमा तालिम सञ्चालन भइरहेको छ ।

तालिमका संयोजक गणेश तामाङका अनुसार ४० जनालाई दुई समूहमा विभाजन गरेर बिहान र बेलुका मोबाइल मर्मत तालिम दिन सुरु गरिएको हो । मोबाइल मर्मत तालिममा १२ जना युवतीहरूले समेत सहभागिता जनाएका छन् ।

प्रशिक्षार्थीहरूलाई सिटिभिटिको पाठ्यक्रम अनुसार ३ सय ९० घण्टा ९६५ दिन० समय अवधिभर तालिम दिइने तामाङले बताए । उनले अहिले समृद्धिको प्रोजेक्ट अन्तर्गत दुई वटा तालिम दिन थालिएको जानकारी दिए ।

धरान उपमहानगरपालिकाका सामाजिक शिक्षा अधिकृत भक्तिराज शर्माले तालिम उपलब्धिमूलक र आत्मनिर्भर बन्न सहज हुने बताए । तालिमको अनुगमन तथा निरीक्षण धरान उपमहानगरपालिकाले गर्ने उनले बताए ।

उनले भने, ‘यो कार्यक्रम विशेष गरेर टाइम पासको लागि मात्र हैन, यसले भोलि गएर हामी आफ्नै स्थानीय तहमा केही गर्छौ, जसले गर्दा भोलि गएर स्वरोजगार हुन्छौ ।’

उनले तालिममा सहभागी भएकाहरूलाई ६५ दिने तालिम सकिए पछि सहभागीहरूको धरान उपमहानगरपालिकामा अभिलेख राख्ने बताए । ‘उपमहानगरपालिकाले पनि मन्त्रालयसँग सहकार्य गरेर यस्तै तालिमका प्याकेजहरू सञ्चालन गर्छौ’ उनले भने ।