इटहरी : इनरुवा नगरपालिका इटहरीमा जारी स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

शनिवार सम्पन्न दोस्रो क्वाटर फाइनल खेलमा उदयपुरको चौदण्डी गढी नगरपालिकालाई ३-० गोल अन्तरले पराजित गर्दै इनरुवाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। इनरुवाको जितमा अभिषेक कालिकोटेले २ गोल गरे । अर्को एक गोल पर्वत कार्कीले गरेका थिए ।

कालिकोटेले खेलको १३ औँ र ७८ औँ मिनेटमा गोल गर्दा कार्कीले खेलको २१ औँ मिनेटमा गोल गरेका थिए । उक्त खेलको म्यान अफ द म्याच इनरुवाका पर्वत कार्की घोषित भए । उनले नगद ३ हजार सहित ट्रफी पाए ।

इनरुवा नगरपालिकाले अब सेमिफाइनलमा आइतबार हुने इटहरी उपमहानगरपालिका र दमक नगरपालिका बिचको विजेतासँग चैत्र १८ गते प्रतिस्पर्धा गर्नेछ।

इटहरीको क्षेत्रीय रङ्गशालामा जारी प्रतियोगितामा प्रदेश एकका ८ वटा नगरपालिकाका टिम सहभागी छन् ।

प्रतियोगिताको विजेता टिमले २ लाख उपबिजेतालाई १ लाख पुरस्कार पाउने छन् । चैत्र २१ गतेसम्म चल्ने प्रतियोगितामा २५ लाख अनुमानित खर्च हुने बताइएको छ ।