धरान : नेकपा एमाले (नेपाल-खनाल समूह) धरान उपमहानगर कमिटीको विस्तारित बैठक तथा शपथ ग्रहण समारोह शनिवार सम्पन्न भएको छ ।

धरान-१५ स्थित सदन सभा हलमा आयोजित कार्यक्रममा मनोनीत नगर सदस्यहरूले शपथ ग्रहण गरेका थिए । कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज धर्मराज निरौलाले नेकपा एमाले विधान अनुसार चल्ने पार्टी भएको बताउँदै कुनै एउटा व्यक्तिको सनक र एउटा समूहको निर्णयलाई संस्थागत गर्न नसकिने बताए।

पार्टीका केन्द्रीय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आत्माकेन्द्रित भएका कारण आम कार्यकर्ताले दु:ख पाएको भन्दै उनले आधिकारिक पार्टीको पक्षमा उभिन कार्यकर्तालाई आग्रह गरे।

कार्यक्रममा बोल्दै एमाले सुनसरीका अध्यक्ष रमेश बस्नेतले एउटा समूहले आफूहरू अधिवेशनबाट निर्वाचित भएर आएको र सर्वोच्च अदालतले गरेको निर्णय अनुसार एकीकरण पूर्वको अवस्थामा एमाले पुगेको बताउँदै अहिले एमालेका नाममा एउटा गुटले गर्ने भेलाहरूलाई गलत प्रवृत्ति भएको बताए ।

बैठकले पार्टीका सबै सदस्यलाई जिम्मेवारी दिने र वडा तथा टोलहरूमा आफ्ना गतिविधिलाई जारी राख्ने निर्णय गरेको छ। एमाले धरानका अध्यक्ष नारायण प्रसाद सुबेदीको अध्यक्षतामा भएको बैठकमा एमालेका जिल्ला,क्षेत्र तथा नगरका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कार्यक्रममा एमाले धरानका सचिवालय सदस्यले स्वागत मन्तव्य राखेका थिए भने एमाले धरानका सचिव राजमणि निरौलाले सञ्चालन गरेका थिए ।