धरान : धरानमा आयोजित ४ दिने धरान खुल्ला गल्फ प्रतियोगिताको शनिवार प्रो एम खेल खेल्दै समापन भएको छ । शनिवारको प्रो एम खेलमा प्रोफेसनल गल्फर सञ्जय लामाको टिमले उपाधि हात पारेको छ ।

पार ७० को धरान गल्फ कोर्समा आयोजित प्रतियोगितामा १६४ अङ्क सहित गल्फर लामाको टिमले उपाधि हात पारेको हो । जसमा उनले ३८ अङ्क बटुलेका थिए भने उनको टिममा रहेका एमेच्योर गल्फरहरु नयन राईले ४३, भरत तामाङले ४२ र आर्शिया बानुले ४१ अङ्क बटुलेका थिए ।

यसै गरेर धरानका प्रोफेसनल गल्फर तथा धरान खुल्ला गल्फ प्रतियोगिता विजेता शुक्रबहादुर राईको टिमले दोस्रो स्थान हात पारेको छ । उनको टिमले १५६ अङ्क बटुल्दै सो स्थान हात पारेका हुन । दोस्रो स्थानका लागी उनले ३७ अङ्क बटुलेका थिए भने उनको टिमका एमेच्योर गल्फरहरु सुमित्रा लिम्बुले ४०, हेमन्त थापाले ४० र पारुहाङ सुनुवारले ३९ अङ्क बटुलेका थिए ।

धरानकै स्थानी अर्का प्रोफेसनल गल्फर नीरज तामाङको टिमले १५२ अङ्क बटुल्दै तेस्रो स्थान हात पारेका छन् । तेस्रो स्थानको लागी उनले ३६ अङ्क बटुलेका थिए भने उनको टिमका एमेच्योर सुमोद बास्तकोटिले ३९, काजी ताप्मादेनले ३९ र भीम दाहालले ३८ अङ्क बटुलेका थिए ।

खेलमा तीन उपाधि सँगै अन्य तीन विधामा पनि गल्फरलाई पुरस्कृत गरिएको थियो । व्यक्तिगत रूपमा उत्कृष्ट अङ्क ल्याउने महिला तर्फको उपाधि आर्शिया बानुले हात पारेकी छिन । त्यसै गरेर लङ्गेस्ट ड्राइभको उपाधि राजकुमार राईले हात पारेका छन् भने क्लासेट टु पिनको उपाधि सुरज श्रेष्ठले हात पारेका थिए ।

सम्पूर्ण विजेताहरूलाई धरान गल्फ क्लबका अध्यक्ष टिका लिम्बु, प्रमुख अतिथि एवं प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, नेपाल गल्फ सङ्घका उपाध्यक्ष एवं धरान उपमहानगरपालिकाका मेयर तिलक राई र नेपाल प्रहरीका एआइजी हरि पालले पुरस्कार वितरण गरेका थिए ।