आज फागुन शुक्ल पूर्णिमा अर्थात् फागु पूर्णिमा 'होली पर्व' हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने गरिन्छ। तर, यसपालि पनि कोरोनाको जोखिम उत्तिकै बढेकाले यसपालि पछिल्ला वर्षहरू जस्तो होलीको रौनक छैन।

फागुन शुक्ल पूर्णिमाका दिन प्रत्येक वर्ष मनाइने रङहरूको चाड फागु पूर्णिमा विभिन्न प्रकारका रङ प्रयोग गरी एक-अर्कालाई रङ्ग दलेर मनाउने गरिन्छ। फागुपूर्णिमाका दिन बालबच्चादेखि बृद्धबृद्धासम्मले होलीको मजा लिने गर्छन्। होलीलाई पुरानो दुस्मनी बिर्सेर एक-आपसमा खुसी साट्ने पर्वका रूपमा समेत मनाइने गरिन्छ।

वैदिक सनातन संस्कृति अनुसार यसको इतिहास सत्ययुग देखिको छ। सत्ययुगमा राक्षसराज हिरण्यकश्यपुका छोरा प्रह्लाद, विष्णुका परम भक्त थिए। आफ्नै छोरा प्रह्लादले परम शत्रु भगवान् विष्णुको आराधना गरेको हिरण्यकश्यपुलाई मन परेको थिएन । त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजनाहरू बनाएको थियो। एक योजना अनुसार हिरण्यकश्यपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई जिम्मा दिएको थियो । होलिका ती हुन् जसले अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन् । दाजुको आदेश अनुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन । होलिका दहनकै खुसीयाली मनाउन आपसमा रङ्ग र अबिर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ । यस चाडले वसन्त ऋतुको आगमनको शङ्ख घोष पनि गर्दछ ।

राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकलामा शरीरमा उत्पन्न कफको विनाश हुन्छ। बालिएको चीरको धुवाँबाट शीतकलाका अनेकौँ रोगका कीटाणु निर्मूल हुने भएकाले यो पर्वको आयुर्वेदिक महत्त्व पनि छ।

नेपालमा पहाडी क्षेत्रमा फागु पुर्णिमाको दिन होली मनाइन्छ भने त्यसको भोलिपल्ट मात्र तराईमा होली मनाइन्छ । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ। तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ। यस वर्ष पनि तराईमा सोमबार होली मनाइँदै छ।

भीडमा गएर होली नखेल्न डाक्टर एवम् सरकारको सुझाव

यस वर्ष पनि विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका नयाँ परिष्कृत प्राकारहरू देखापरेकाले जोखिम झन् बढेको छ। त्यसैले भिडभाड भएको स्थानमा गएर होली नखेल्न सरकारले सुझाव दिएको छ। नेपाल पनि कोरोना भाइरसका परिष्कृत प्रकारहरू देखापरेकाले जोखिम अत्यन्तै बढेको छ। त्यसैले जथाभाबी भिडभाड भएका स्थानहरूमा गएर होली नखेल्न डाक्टरहरूले पनि सुझाव दिएका हुन् ।