धरान : धरानमा होराइजन क्लबले आयोजना गरेको पाँचौँ राष्ट्रिय होराइजन बास्केटबल कप प्रतियोगिताको शनिवार सम्पन्न दुई खेलमा रुपन्देही बास्केटबल क्लब र इटहरीको तरहरा बास्केटबल क्लबले विजयी सुरुवात गरेका छन् । दुवै टिम दोस्रो चरणमा प्रवेश गरेका छन् ।
 
धरान-१७ स्थित श्री माविको गोर्खा भूपू सैनिक बास्केटबल कोर्टमा भएको पहिलो खेलमा तरहरा बास्केटबल क्लबले धरानको ब्रदर्स बास्केटबल क्लबलाई ५०–३७ स्कोरले पराजित गरेको थियो । प्रत्येक क्वार्टरमा दुवै टिमले ७–११, ११–१४, १३–१६ र १९–६ अङ्क जोडेका थिए ।
 
खेलमा तरहराका सुमन बस्नेतले व्यक्तिगत २५ स्कोर गर्दै नगद १५ सय रुपैयाँको सेन्ट जोसेफ म्यान अफ द म्याच पुरस्कार पाए ।
 
प्रतियोगिताको दोस्रो खेलमा आयोजक क्लबलाई पाहुना टिम रुपन्देही बास्केटबल क्लबले ६५–३५ स्कोरको फराकिलो अङ्कले पराजित गरेको थियो ।
 
घरेलु दर्शकमा माझ फितलो प्रदर्शन गरेका आयोजक टिमविरुद्ध रुपन्देहीले प्रत्येक क्वार्टरमा २–१८, १४–२३, ११–१० र ८–१४ स्कोर गरेको थियो । खेलका म्यान अफ द म्याच रुपन्देहीका दिनेश मगर घोषित भए ।
 
स्थानीय क्लब स्तरीय बास्केटबल प्रतियोगिता सञ्चालन गर्दै आएको होराइजनले पहिलो पटक राष्ट्रिय स्तरको बास्केटबल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा आठ टिम सहभागी छन् ।
 
प्रतियोगिताको विजेता टिमले नगद १ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले ५० हजार रुपैयाँ हात पार्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपैयाँ, नवप्रतिभा घोषित खेलाडीलाई नगद ५ हजार दिइने आयोजक क्लबले जनाएको छ ।
 
आजको खेल धरानको इम्मोर्टल बास्केटबल क्लब र युवा जागृति बास्केटबल क्लब तथा काठमाडौँका आर्मी क्लब र आईएफजे क्लब नेपालबिच हुने आयोजकले जनाएको छ ।