धरान : होली पर्वलाई लक्षित गरेर प्रदेश १ को सुरक्षा व्यवस्था आज र भोलि कडा पारिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

नेपालमा आज पहाड र भोलि तराई क्षेत्रमा धूमधामसाथ होली मनाइँदै छ । होलीलाई मध्यनजर गर्दै प्रदेश १ भरीका १४ वटै जिल्लाको सुरक्षा व्यवस्था कडा पार्न सबै जिल्ला प्रहरी कार्यालयहरूमा लिखित पत्र पठाई सकिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार सामूहिक जमघट भएर होली खेल्न नपाइने, घर भित्रै र पारिवारिक बिचमा मात्रै होली खेल्न प्रहरीले अनुरोध गरेको छ ।

होली मनाउने नाममा कानुन विपरीत हुने सबै गतिविधिमाथि निगरानी बढाएर कडाइ गरिएको छ । ठाउँ ठाउँमा अवस्था हेरेर अरू समयको तुलनामा बढी सुरक्षाकर्मी परिचालन गरिएको पनि प्रवक्ता एसपी श्रेष्ठले बताए ।

उनका अनुसार होलीमा उसृङ्खल र अवाञ्छित गतिविधि गर्ने जोकोहीलाई पनि नियन्त्रणमा लिएर प्रचलित कानुनअनुसार कारबाही अघि बढाइने छ ।