इटहरी : दमक नगरपालिका इटहरीमा जारी स्वर्गीय गिरिजा प्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार सम्पन्न तेस्रो क्वाटर फाइनल खेलमा इटहरी उपमहानगरपालिकालाई २-१ गोल अन्तरले पराजित गर्दै दमक नगरपालिकाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

दमकको जितमा किस्मत लिम्बु एक्लैले २ गोल गरे । उनले खेलको ५२ औ र ७३ औ मिनेटमा गोल गरेका थिए । उक्त खेलको म्यान अफ द म्याच २ गोल गरेका लिम्बु नै घोषित भए ।

उनलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङले नगद ३ हजार सहित टफी प्रदान गरे । इटहरीका लागि एक मात्र गोल निकेश तामाङले खेलको ७० औ मिनेटमा गरे ।

दमक नगरपालिकाले अब सेमिफाइनलमा चैत्र-१८ गते सुनसरीको इनरुवा नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । इनरुवा यसअघि नै उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ३-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरिसकेको छ ।

इटहरी स्थित क्षेत्रीय रङ्गशालामा जारी प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेलमा मंगलबार विराटनगर महानगरपालिका र धनकुटा नगरपालिका बिच खेल हुने प्रतियोगिता संयोजक सूर्य राईले जानकारी दिए ।

प्रतियोगितामा प्रदेश एकका ८ वटा नगरपालिकाका टिम सहभागी छन् । प्रतियोगिताको विजेता टिमले २ लाख उपबिजेतालाई १ लाख पुरस्कार पाउने छन् ।