विराटनगर : प्रदेश १ प्रदेश सभाको बैठक आगामी चैत २३ गते आह्वान गरिएको छ ।

गत चैत १ गते अनिश्चितकालका लागि स्थगित बैठक चैत २३ गतेका लागि आह्वान गरिएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताए ।

मुख्यमन्त्री शेरधन राईका विरुद्ध पेस भएको अविश्वासको प्रस्तावमाथिको हस्ताक्षर फिर्ता लिन एमाले नेपाल पक्ष तयार भएपछि प्रदेश सभाको बैठक बोलाइएको हो ।

नेपाल पक्षका सांसद राजेन्द्र राईले प्रदेश सभाको चौथो बैठक आह्वान गरिएको मिति अगावै हस्ताक्षर फिर्ता लिने बताए । सामूहिक रूपमा फिर्ता लिने उनले बताए ।

गत बुधवार संसदीय दलको बैठकमा दलका नेता तथा मुख्यमन्त्री शेरधन राईले सात दिन भित्र अविश्वासको प्रस्तावमाथिको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थिए ।

माघ ७ गते हिउँदे अधिवेशन सुरु भएको थियो । मुख्यमन्त्री राई विरुद्ध अविश्वास प्रस्ताव संसदमा पुस १२ गते पेस गरिए पनि फागुन ९ गते मात्र संसदमा टेबल भएको थियो ।

प्रस्ताव टेबल भएपछि सरकार पक्षले संसद् बैठक बहिस्कार गरेको थियो । प्रस्ताव टेबल भएपछि फागुन २० गतेका लागि आह्वान गरिएको बैठक फागुन १९ गते र चैत २ का लागि लागि आह्वान गरिएको बैठक चैत १ गते स्थगित गरिएको थियो ।

एमालेको नेपाल पक्षले अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएपछि मुख्यमन्त्री राईविरुद्ध तत्कालीन नेकपाको दाहाल-नेपाल समूहले दर्ता गराएको अविश्वासको प्रस्ताव असफल हुनेछ। प्रदेशसभाका ९३ सांसदमध्ये नेकपा एमालेसँग ५१ जना सदस्य छन् ।

Pradesh-1-sachibalaya