धरान : धरानको होराइजन क्लबद्वारा आयोजित पाँचौँ राष्ट्रिय होराइजन बास्केटबल प्रतियोगिताको आइतबार सम्पन्न दुई खेलमा काठमाण्डौको आर्मी क्लब र धरानको इम्मोर्टल बास्केटबल क्लब सेमीफाइनमा पुगेका छन् ।

धरान-१७ स्थित श्री माविको गोर्खा भूपू सैनिक बास्केटबल कोर्टमा भएको पहिलो खेलमा इम्मोर्टलले धरानकै युवा जगृती बास्केटबल क्लब विरुद्ध ८१-६१ स्कोरले पराजित गरेको थियो । प्रत्येक क्वार्टरमा दुवै टिमले १७-१७, १५-१६, २३-११ र २६-१७ अङ्क जोडेका थिए । खेलमा युवा जागृतिका सुजन लिम्बुले व्यक्तिगत २७ स्कोर गर्दै नगद १५ सय रुपैयाँको सेन्ट जोसेफ मस्टा भ्यालुएवल प्लेयर पुरस्कार पाए ।

यसै गरी दोस्रो खेलमा काठमाण्डौको आइएस् क्लबलाई १०४-४९ स्कोरले पराजित गर्दै आर्मी क्लब विजयी भयो । उक्त खेलमा आर्मी र आइएसएले २१-१३, ३१-६, ३५-१३ र १७-१७ अङ्क जोडेका थिए । खेलका एमभिपी आर्मीका सिद्धार्थ महर्जन घोषित भए ।

बास्केटबलको प्रथम राष्ट्रिय प्रतियोगिता सम्पन्न गर्न धरान–१७ समाज हङकङको मुख्य प्रायोजन र टर्की नेपाली समाज अंकाराको सह प्रायोजन गरेको छ ।

भोलि सोमबारको सेमिफाइनल खेलहरू आर्मी र तरहरा तथा इमोर्टल र रुपन्देही बास्केटबल सङ्घ बिच हुने आयोजकले जनाएको छ ।