धरान : धरानको अपराधीक गतिविधि रोक्नका लागि धरान प्रहरीले स्वीप अप्रेसन चलाएको बताएको छ । तर अप्रेसन नाममा मात्रै सीमित रह्यो । धरानमा पछिल्लो समय विभिन्न आपराधिक गतिविधिहरू भए । जसले गर्दा प्रहरीले भन्ने गरेको स्वीप अप्रेसन नाम मात्रैमा सिमित रह्यो । स्वीप अप्रेसन 'स्लिप' भयो ।

यदि यो अप्रेसन सक्रिय र नाम जस्तै अप्रेसन रहने भएको भए धरानमा आपराधिक गतिविधि बढने थिएनन् । यो साता मात्रै धरानमा मानिसको मृत्यु हुने गरी र मरणासन्न हुने गरीका आपराधिक घटनाहरू घटे ।

ती घटनाका दोषी माथि कारबाहीको कुरा त परै जावस खुकुरी र छुरा प्रहार गरेर फरार रहेका अपराधीहरूलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । अपराधीहरूलाई कारबाहीको कठ्ठाघरामा उभ्याउन नसक्नुले धरान प्रहरीले चलाएको स्वीप अप्रेसन 'स्लिप' भएको महसुस भएको हो ।

प्रहरीले शान्ति सुव्यवस्था कायम गर्न भिन्न अपराधका शीर्षकमा विशेष नाम दिएर एरिया अनुसार अभियान चलाउँदा अपराधमा कमी आउने प्रहरी सङ्गठनको दाबी छ ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान कार्य योजना शाखाबाट तयार भएर आएको सेप्टी पिन क्याम्पेन धरान समितिका अध्यक्ष तथा इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले महिला माथि हुने यौनजन्य दुर्व्यवहारको अन्त्य गरौँ, भन्ने नारा लिएर सेप्टी पिन क्यापेनलाई निरन्तरता दिने बताएका थिए तर, यो अभियानले पनि विश्राम नै पाएको छ ।

०७७/१०/१२ गते भानुचोकमा धरान प्रहरीले सवारी साधनमा हुने महिला हिंसा तथा यौनजन्य दुर्व्यवहार विरुद्धको विशेष अभियान (सेप्टी पिन क्यापेन) चलायो । तर, धरानमा यसले खासै निरन्तरता पाएको छैन ।

लागुऔषध विरुद्धको क्लिन धरान नामक स्विप अप्रेसन चलाएर धरान प्रहरीले एक पटक निकै ठुलो सफलता प्राप्त गरेको थियो । तर, बिस्तारै यसले पनि पूर्णविराम पाएको छ ।

लागुऔषधको मुद्दामा फरार रहेका अभियुक्तहरूलाई प्रहरीले खोजी खोजी पक्राउ गर्न नसक्दा झन् उनीहरू खुलेआम हिँडेको पाइन्छ ।

प्रहरीको फरार सुचीमा ४० जना 

चालु आर्थिक वर्ष २०७७/७८ को फागुन मसान्त सम्मको प्रहरीको तथ्याङ्क हेर्दा ज्यान मार्ने उद्योगमा ५ जना , ठगीमा २ जना ,लागु औषधमा ४ जना, आत्महत्या दुरुत्साहनमा १ जना, सवारी अङ्गभङ्गमा १ जना , अभद्र व्यवहारमा ९ जना ,जबरजस्ती करणीमा २ जना, चोरीमा ९ जना, बैङ्किङ कसुरमा ५ जना र आपराधिक विश्वासघातमा २ जना गरी जम्मा४० फरार सुचीमा रहेका छन् ।

चालु आर्थिक वर्ष २०७७/७८ मा धरानले विभिन्न मुद्दाका ४९ जनालाई सुनसरी अदालत पेस गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । गत आर्थिक वर्षको तथ्याङ्क भन्दा चालु आर्थिक वर्षमा फरार धेरै रहेको धरान प्रहरीले बताएको छ ।

सुनसरी अदालतले १ जना पनि फरार प्रतिवादी अदालतमा आफै उपस्थित नभएको जनाएको छ भने चालु मुद्दाका शीर्षकमा फरार रहेका फरार व्यक्तिको सुरक्षित तथ्याङ्क विवरण समेत धरान प्रहरीले राख्न झन्झट मानेको छ । चालु मुद्दामा फरार रहेका व्यक्तिको किटान पनि प्रहरीले गर्न सकेको छैन ।

धरान पानमारामा गत माघ २८ गते ७५ वर्षीय जसमाया राईको २ तोला सुनको गहना लुटिनुका साथै घाँटी रेटी हत्याको प्रयास गर्ने युवाको नाम थाहा भए पनि प्रहरीले ती युवालाई पक्राउ गर्न अझै सकेको छैन ।

गत बिहीबार धरान-८ मा छुरा प्रहार गर्ने दोर्जे भनिने निशान मोक्तानलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । धरान-१७ को ज्यालामुखी विद्यालयमा अज्ञान समूहले लगाएको आगजनीमा पनि प्रहरीले कुनै निष्कर्ष निकालेको छैन।

नेपाल प्रहरीले मोबाइल फोनको लोकेसन अन गरेर पनि प्रहरीले फरार प्रतिवादी पक्राउमा सक्रियता देखाउन सक्छ । कुनै इलाकामा फरार सूचीमा रहेका व्यक्तिको विवरण र फलो गर्न छुट्टै व्यक्ति राखिएको हुन्छ । तर , धरानमा कार्यरत प्रहरी नै कमी भएर काम ढिला भएको धरान प्रहरी भित्रकै गुनासो छ ।

धरानमा प्रहरीको आज भन्दा १० वर्ष अघि १ सय ५ दरबन्दी थियो भने धरानमा हाल १ सय ३५ जना प्रहरी कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

धरानमा अपराध दैनिक बढेपछि र जनशक्तिको कमी भएर नै प्रहरीको अप्रेसन प्रभावकारी नदेखिएको हो । धरानमा प्रहरी सङ्ख्या कम भएकोले केही प्रहरी सङ्ख्या थप गर्ने तयारीमा प्रहरी प्रधान कार्यालय रहेको बताइएको छ ।