धरान : सोमबार प्रदेश नं १ को छुट्टाछुट्टै स्थानमा भएका घटनामा चार जनाको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सुनसरीको दुहबी नगरपालिका –१० स्थित नहरचौकमा भएको मोटरसाइकल दुर्घटनामा परी गढी गाउँपालिका २ सखुवारे कलरुवा बस्ने ३२ वर्षीय सञ्जय चौधरीको मृत्यु भएको छ ।

सोमबार दिउसो पौने २ बजे को ९ प ७००० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को ४ प ६११२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा को ४ प ६११२ नम्बरको मोटरसाइकल चालक रहेका चौधरी गम्भीर घाइते भई विराट टिचिङ अस्पताल पुर्‍याउन साथ मृत्यु भएको थियो ।

अर्का मोटरसाइकल चालक मोरङ झोराहाट नयाँ बजार बस्ने १८ वर्षीय निकेश बजारु समेत घाइते भई जीवन ज्योति अस्पताल दुहबीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ ।

यसै गरी सुनसरी बर्जू–६ बस्ने ११ बर्षीया अञ्जली मेहताको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार बिहान ६ बजे छिमेकीको घरमा पानी भर्ने क्रममा पानी तान्ने मोटरमा बिद्युत सर्ट भई करेन्ट लागी अञ्जलीको घटना स्थलमानै मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ ।

यसै गरी ताप्लेजुङ मिक्वाखोला–१, सिम्ले बस्ने २८ वर्षीय मन कुमार तामाङको रुखले किची मृत्यु भएको छ । सोमबार बिहान ७ बजे सोही स्थानमा रहेको कात्तिके सामुदायिक जङ्गलमा दाउरा काट्न चिलाउनेको रूख काटी ढाल्ने क्रममा उक्त रूखको हाँगा अड्की हाँगा काट्ने क्रममा उक्त रूख ढली किची घाइते भएका तामाङको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा सोमबार दिउसो साढे १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यसै गरी सुनसरीको इटहरी २ बस्ने ५५ वर्षीय जीवन रेग्मीले सोही स्थानका ५० वर्षीय केशव कार्कीलाई फलामको खन्तीले भुँडीमा हानी हत्या गरेका छन् ।

सोमबार दिउसो साढे १ बजे रेग्मीले पहिलाको विवादलाई लिएर कार्कीलाई फलामको खन्तीले भुँडीमा हानी गम्भीर घाइते बनाई फरार भएका थिए । घाइते कार्कीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा सोमबार दिउसो साढे २ बजे मृत्यु भएको थियो ।

फरार रहेका रेग्मीलाई नियन्त्रणमा लिइसकेको इलाका प्रहरी कार्यालय इटहरी सुनसरीले जनाएको छ ।