धरान : प्रदेश १ मा नेकपा माओवादी केन्द्रका संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो चुनिएका छन् ।

दलको सोमबार बसेको बैठकले पूर्वआर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका आङ्बोलाई दलको नेताको रूपमा चयन गरेको हो ।

बैठकले उपनेतामा रामकुमार राई, प्रमुख सचेतकमा झलकसिंह दर्लामी र सचेतकमा शौभाग्यवतिदेवी राई चयन भएका छन् । तत्कालीन नेकपाको प्रचण्ड-माधव पक्षबाट मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै आङ्बोले मन्त्रीबाट राजीनामा दिएका थिए ।

तत्कालीन नेकपा संसदीय दलका उपनेता रहेका ताप्लेजुङ ‘ख’ बाट निर्वाचित टङ्क आङ्बुहाङ नेकपा एमाले प्रवेश गरेपछि माओवादी केन्द्रको संसदीय दलको नेताको पद खाली रहेको थियो ।

प्रदेश १ मा नेकपा माओवादी केन्द्रको १६ जना सांसद छन् । दलको नेता छनोट गर्दा यसअघि पनि आङ्बोले दाबेदारी प्रस्तुत गरेका थिए ।

तर, उनी आर्थिक मामिला तथा योजना मन्त्री भएपछि दलको नेताको जिम्मेवारी आङ्बुहाङले पाएका थिए ।