विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जनअपेक्षा अनुसार अघि बढ्न सबै एक हुन आवश्यक रहेकोमा जोड दिएका छन् ।

आफूहरू राजनीतिक यात्रालाई फराकिलो बनाएर अघि बढ्न तयार रहेको भन्दै उनले सहकार्यका लागि अन्य राजनैतिक शक्ति र सबै पक्षलाई आह्वान पनि गरे ।

आज विराटनगर ५ मा निर्माण गरिएको नेपाल पत्रकार महासङ्घ प्रदेश १ को कार्यालय भवनको उद्घाटन एवं ‘मेरो पत्रकारिता’ पुस्तक विमोचन समारोहमा बोल्दै मुख्यमन्त्री राईले आफूहरू निरन्तर रूपमा प्रदेशको समृद्धि र विकास तर्फ केन्द्रित भइरहेको जानकारी दिँदै साझा आकाङ्क्षा प्राप्तिका लागि सबैले हातेमालो गर्नुपर्ने बताए । मुख्यमन्त्री राईले विकास, निर्माण र समृद्धिका पक्षमा सञ्चारकर्मीले कलम चलाउनुपर्नेमा जोड दिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले पत्रकारिता पेसालाई थप मर्यादित र व्यवस्थित बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा प्रदेश १ का ३४ जना अग्रज पत्रकारको अनुभव र चिनारीलाई समेटेर प्रकाशन गरिएको ‘मेरो पत्रकारिता’ नामक पुस्तकको पनि विमोचन गरिएको छ । महासङ्घका प्रदेश १ अध्यक्ष विक्रम लुइँटेलले नेपाली पत्रकारितामा प्रदेश भित्र रहेर अग्रज पत्रकारले पुर्‍याएको  योगदानलाई पुस्तकमा समेटिएको बताए ।

अग्रज पत्रकारहरूले मुलुकको परिवर्तन तथा पत्रकारिताको विकासका लागि निर्वाह गरेको भूमिकालाई जीवन्त राख्न पुस्तकले सहयोग गर्ने लुइँटेलले बताए ।

महासङ्घका प्रदेश महासचिव विवेक गौतमले प्रदेश सरकारको ७६ लाख रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न भएको बताए ।