इटहरी : विराटनगर महानगरपालिका इटहरीमा जारी स्वर्गीय गिरिजा प्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मङ्गलवार सम्पन्न अन्तिम क्वाटर फाइनल खेलमा धनकुटा नगर पालिकालाई ३-१ गोल अन्तरले पराजित गर्दै विराटनगर महानगरपालिकाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

विराटनगरको जितमा भुवन बस्नेत एक्लैले २ गोल गरे । उनले खेलको ७२ औ र ८८ औ मिनेटमा गोल गरेका थिए । अर्को एक गोल विजय पोखरेलले खेलको ८३ औ मिनेटमा गरे ।

धनकुटाका लागि एक मात्र सान्त्वना गोल दिपेन शाक्यले खेलको ७६ औ मिनेटमा गरे । उक्त खेलको म्यान अफ द म्याच २ गोल गरेका बस्नेत नै घोषित भए ।

विराटनगरले नगरपालिकाले अब सेमिफाइनलमा चैत्र १९ गते सुनसरीको धरान उपमहानगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।

इटहरी स्थित क्षेत्रीय रङ्गशालामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बुधवार इनरुवा नगरपालिका र दमक नगरपालिका बिच खेल हुने प्रतियोगिता संयोजक सूर्य राईले जानकारी दिए ।

प्रतियोगितामा प्रदेश एकका ८ वटा नगरपालिकाका टिम सहभागी छन् । प्रतियोगिताको विजेता टिमले २ लाख उपबिजेतालाई १ लाख पुरस्कार पाउने छन् ।