इटहरी : इनरुवा नाम “इनार” बाट बनेको प्रस्ट पार्न इनरुवाको पहिचान झल्काउने प्रतिमाको अनावरण गरिएको छ । इनरुवाको बिच बजारमा पर्ने गोल चौकमा मेयर राजन मेहेताले मूर्तिको अनावरण गरेका हुन् ।

नगरपालिकाको १२ लाख र स्थानीय उपभोक्ताको ३ लाख लागत सहभागितामा मूर्ति तयार भएको हो । इनरुवाको पहिचान इनार भएकोले पहिचान सम्झाउन मूर्ति निमार्ण गरिएको हो ।

परापुर्वकालमा इनरुवा आसपासमा धेरै जुट उत्पादन हुने गरेको थियो । जुट लिन आउनेहरू इनारको पानी खाएर जाने भएकोले इनार भएको ठाउँ भन्दाभन्दै इनरुवा नाम हुन गएको किम्बदन्ती छ ।

मूर्ति अनवरणपछी बोल्दै मेयर मेहेताले स्थानीय तहको निर्वाचन पश्चात् इनरुवाको विकासले नयाँ स्वरूप बदलेको बताए । कृषकका समस्या देखी उद्योगीका अप्ठ्यारा समेत समाधान भएको उनको भनाई छ ।

नगरपालिकाको बजार क्षेत्रलाई सौन्दर्यीकरण गर्ने क्रममा केही महिनामै तारहरू व्यवस्थापन गरिने र सडक पेटीमा राखिएका सामग्री हटाइने बताए ।

मठमन्दिर, मस्जिदको पुनःनिमार्णमा लागी परेकोले स्थानीयको पहिचान र आस्थालाई ऊर्जा थप्ने काम गरिरहेको मेयर मेहेताले बताए । पहिला सजाय पाउनेलाई बस्ती बसाउने ठाउँको रूपमा परिचित इनरुवा अहिले उर्वर र ऊर्जाशील सहर भएको उनको भनाई छ ।

मेयर आफू भए पनि नागरिकको सहभागिता बिना कुनै पनि काम सफल नहुँने भन्दै विकाश निमार्णमा सहयोगको अपिल गरे । विरोधीहरूले काम नपाएर कुरा काटेको स्मरण गराउँदै उनले आफूले ३ वर्षमा गरेको कामको समीक्षा गर्न चेतावनी दिए ।

मूर्ति अनावरण कार्यक्रममा सङ्घीय सांसद तथा पूर्व मन्त्री सिताराम मेहेता, उद्योग वाणिज्य सङ्घ इनरुवाका अध्यक्ष वीरेन्द्र शाह लगायतको सहभागिता थियो ।

Inaruwa-1