धरान : किराँत समुदायले आफ्नो आस्थाको धरोहरको रूपमा दाबी गरेको 'खुवालुङ' क्षेत्रमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई अवलोकन तथा निरीक्षण गर्न पुगेका छन् ।

धनकुटा, भोजपुर र उदयपुर जिल्लाको सिमानामा रहेको तीन ठुला नदीहरू अरुण, तमोर र दूध कोसीको संगमस्थल त्रिवेणी स्थित कोसी नदी भित्र रहेको ढुङ्गालाई किराँत समुदायले पवित्र तीर्थस्थल 'खुवालुङ' भनेर दाबी गर्दै आइरहेका छन् । 

जल यातायात बिस्तार गर्ने योजना अन्तर्गत उक्त ढुङ्गा अर्थात् 'खुवालुङ' फुटाउने हल्लासँगै एकाएक चर्चाको विषय भनेको खुवालङ्गलाई संरक्षण र विकासमा प्रदेश सरकार लाग्ने मुख्यमन्त्री राईले बताए। मङ्गलवार खुबालुङ्ग क्षेत्रमा अवलोकन गर्न पुगेका मुख्यमन्त्री राईले खुवालुङ्ग किरात राई जातिको आस्थाको केन्द्र भएको बताए। यो फुटाउन प्रदेश सरकार र केन्द्रीय सरकार लागेको कुरा हल्ला मात्र भएको दबी सम्म गर्न भ्याए ।

'मुन्धुमी शक्ति केन्द्र कोसी नदीमा अवस्थित ‘खुवालुङ’ संरक्षणका लागि प्रदेश सरकारले पहलकदमी लिन्छ' उनले भने । 'खुवालङ्ग क्षेत्रको विकासमा प्रदेश सरकार गुरु योजना बनाएर अगाडि बढ्छ, यसको संरक्षण गर्छ । यस क्षेत्रमा अरू पनि सम्भावना हुन सक्छन् । प्राविधिक हिसाबले अरू पनि सम्भावना के के छन् भनेर खोजी गर्न प्रदेश सरकार लाग्नेछ।' 

Khuwalung-Panidhunga

विश्वभरका किरातीहरुको आस्थाको केन्द्र 'खुवालुङ्ग'को संरक्षण गरेर बोट सञ्चालन गरिन उनले बताए । 
'प्रदेश र देशको समृद्धि खुबालुङ्गको विकासले टेवा पुर्‍याउन छ, यो यसको धार्मिक तथा ऐतिहासिक रूपले विकास गर्नु पर्छ' उनले भने । 'चतरादेखि किमाथाङ्का र दोलालघाट सम्म जल यातायातका बिस्तार गर्ने योजना छ, खुवालुङ्गलाई संरक्षण गरेर हामी काम अगाडि बढाउने छौँ ।' 

किरात राई यायोख्या केन्द्रीय समितिको अग्रसरतामा आयोजना भएको उक्त कार्यक्रममा प्रदेश नं १ सरकारका प्राविधिक विज्ञ बिपुल राज पाण्डेले पहिलो चरणको सर्वेबाट उक्त ढुङ्गा फुटाउने कुनै कुरा नभएको जिकिर गरे। उनले उक्त खुवालुङ्को दायाँ बाँया दुवैबाट पनि पानी बोट सञ्चालन गर्न सकिने बताए।

खुवालुङ्गको वरपरबाट जहान कुदाउन मिल्ने बनाउन सकिने भूगोल रहेकाले खुवालुङ्ग नफुटाई जल यातायात बिस्तार गर्न सकिने उनले दाबी गरे ।

गत फागुन ७ गते विराटनगरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी ओलीले जल यातायात बिस्तारमा एउटा ढुङ्गा बाधक बनेकाले फुटाउने बताएपछि  खुबालुङ्गको चर्चा सुरु भएको थियो ।