विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका एमाले माधव नेपाल समूहका सांसदहरूले हस्ताक्षर फिर्ता लिएका छन् ।

गत पुस १२ गते मुख्यमन्त्री राई विरुद्ध तत्कालीन नेकपाका ३५ जना सांसदहरूले हस्ताक्षर गरेका थिए । हस्ताक्षर गरेका मध्ये ५ जनाले यसअघि नै गुट परिवर्तन गरी ओली समूहमा गएका छन् ।

नेपाल समूहमा रहेका १६ जना सांसदहरूले सामूहिक रूपमा हस्ताक्षर फिर्ता लिएको सांसद राजेन्द्र राईले बताए ।

सामूहिक रूपमा हस्ताक्षर फिर्ता लिएको प्रदेशसभालाई जानकारी गराइएको छ। गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पुर्ववत रूपमा फर्काएको र नयाँ राजनीतिक परिस्थितिको निर्माण भएकाले मुख्यमन्त्री राई विरुद्धको अविश्वास प्रस्तावको समर्थन फिर्ता लिएको सांसद राईले बताए।

गत बुधवार मुख्यमन्त्री राईले आफू विरुद्धको हस्ताक्षर एक साता भित्रमा फिर्ता लिन निर्देशन दिएका थिए। संसदीय दलको बैठकमा राईले हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थिए।

प्रदेशसभाको बैठक चैत २३ गतेलाई बोलाइएको छ ।

Abisuwas-ko-Prastab